Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


फागुन महिनामा पनि मूल्यवृद्धि उच्च नै


0
Shares

काठमाडौं, वैशाख ८ । चालू आर्थिक वर्षको फागुन महिनामा पनि मूल्यवृद्धि उच्च नै रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठौं अर्थात् फागुन महिनाको आर्थिकस्थिति विवरणअनुसार उक्त अवधिसम्म अन्य आर्थिक सूचक मिश्रित नै रहेका छन् ।

‘लकडाउन’ लागू हुनुभन्दा अघिल्लो महिना मूल्यवृद्धि ६.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै महिनामा मूल्यवृद्धि ४.२० प्रतिशत रहेको थियो ।

माघ महिनामा अझै उच्च ६.८७ प्रतिशत पुगेको थियो ।

यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि उच्च ९.३३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.६९ प्रतिशत रहेको छ ।

यस अवधिमा कुल वस्तु निर्यात २२ प्रतिशतले वृद्धि भइ ७४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५ प्रतिशतले वृद्धि भएको थियो ।

कुल वस्तु आयात २.६ प्रतिशतले घटेर ९ खर्ब २४ अर्ब कायम भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो आयात झन्डै २४ प्रतिशतले बढेको थियो ।

यसरी कुल वस्तु व्यापार घाटा ४ प्रतिशत बढीले संकुचन भइ ८ खर्ब ४९ अर्ब कायम भएको छ । गत वर्षको यसै अवधिमा यस्तो घाटा २४ प्रतिशतले बढेको थियो ।

यस अवधिमा विप्रेषण आप्रवाह सामान्य १.८ प्रतिशतले वृद्धि भइ ५ खर्ब ९२ अर्ब कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चालू खाता घाटा १ खर्ब २४ अर्ब रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो घाटा १ खर्ब ९१ अर्ब रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोडले घाटामा रहेको थियो ।