२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दशगजा क्षेत्र कब्जा गर्न लगाएको काँडेतार र पोल सशस्त्रले हटायो


2.587k
Shares

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संरक्षणमा भारतीय सशस्त्र बल रक्षकले कञ्चनपुरको दोधारा–चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न लगाएको काँडेतार र सिमेन्टेड पोल सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ ।

दशगजा क्षेत्रको जमिन आफ्नोतर्फ पार्न भारतीय सुरक्षाकर्मीले गाडेका सिमेन्टका पोल र काँडेतार सीमा सुरक्षार्थ देविस्थानबाट तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)बाट खटिएको टोलीले हटाएको हो ।

सिमेन्टेड पोल गाडेर दशगजाको जमिन आफ्नो तर्फ पार्न काँडे तारजाली लगाएको थाहा पाएपछि जेठ १८ मा सशस्त्र प्रहरी टोली भारतीय अनधिकृत संरचना हटाउन पुगेको थियो ।

सशस्त्र प्रहरीले दशगजामा बनाइएका संरचना हटाउन थालेपछि भारतीय सुरक्षाकर्मी भनाभनमा उत्रिएका थिए । दशगजामा संरचना बनाउन नदिने सशस्त्र प्रहरीको अडानपछि एसएसबी र सशस्त्र सीमा बलको टोली पछि हटेको थियो ।

त्यसपछि सशस्त्रले सिमेन्टेड पोल र काँडेतार हटाएर दशगजाको भूभाग खाली गराएको थियो । यसैगरी दोधारा–चादनी नगरपालिका ३ बडुवालटोल नजिकै नेपाली भूभागलाई असर पर्नेगरी भारतले नखाताल वन क्षेत्रको बाटोबाट नजिकै बनाएको ढुंगा र माटोको अग्लो संरचना पनि सशस्त्रले भत्काइदिएको छ ।