Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउनुको विकल्प छैन : मन्त्री अधिकारी


0
Shares

काठमाडौं, साउन २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव गरेका छन् ।

नयाँ विमान खरिदकाक्रममा कुनै कमजोरी भएको भए दोषीलाई कारबाही गर्ने बताउँदै उनले ‘वारेन्टी’ नभएको प्रचार गलत भएको पनि बताए ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले ‘वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउनुको विकल्प छैन’–भने ।

विमान खरिदकाक्रममा वारेन्टी, ‘वेट’लगायतका विषयमा नागरिक उड्डयन प्राधिकरणको टोलीलाई हेर्न लगाएको भन्दै उनले जहाज किन्ने प्रक्रियामा गल्ती भएको भए सरकारले पनि नछाड्ने र सदनले पनि छाड्न नहुने बताए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण, निजगढ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल निर्माणको प्रगति, सम्पदा पुनःनिर्माणलगायतबारे संसदलाई जानकारी गराए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गरी २४ सै घन्टा सन्चालनमा आउने प्रबन्ध मिलाउन लागेको पनि उनले जानकारी दिए ।

वर्षात्पछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण थालिने र सो सम्पन्न भएलगत्तै सन् २०१९ को फेब्रुअरीको दोस्रो हप्तादेखि दैनिक ८ घन्टा उडान र अवतरण बन्द गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण थालिने बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्यांकन स्वीकृत भइसकेको र दुई हप्ताभित्र ‘मोडालिटी’ पनि तय हुने भन्दै उनले मुआब्जालगायत पूर्वतयारीका काम एक महिनाभित्र सुरु हुने जानकारी दिए ।

सांसद दिलेन्द्र बडूले वायु उडानहरुले बिमाबापतको रकम स्वदेशीलाई ५० हजार रुपैयाँमात्रै दिने र अरु विदेशीलाई एक लाख ५० हजार हुने व्यवस्थाबारे मन्त्रीसँग जिज्ञासा राखेका थिए ।

यस्तै, सांसद रामबहादुर विष्टले ‘वाइडबडी’ विमान खरिदमा १० प्रतिशत कमिसनको कुरा चलेको भन्दै यसबारे स्पस्ट पार्न आग्रह गरेका थिए ।