काठमाडौं, साउन २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरुलाई विस्तारभन्दा पनि सुदृढीकरणलाई प्राथमिकता दिएर सेवा सन्चालन गर्न सुझाव दिएका छन् ।
स्वावलम्बन विकास केन्द्रको २७औं वार्षिकोत्सव कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले प्रविधि र उद्यमशीलतालाई सँगसँगै लैजानसके देशको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।
केही संस्थाहरुका कारण सबैजसो संस्थाप्रति समाजमा गलत सन्देश गएको भन्दै अर्थमन्त्री खतिवडाले इमान्दारीताका साथ काम गर्न सुझाव दिए ।
गरिबी निवारण गर्न सरकारी र अरु संघ–संस्थाले साझेदारीका साथ लक्षित कार्यक्रम अघि बढाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा स्वावलम्बन विकास केन्दले प्रकाशन गरेको ‘ह्वाट् वी क्यान लर्न फ्रम द ग्रामीण बैंक’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।
केन्द्रले प्रदान गर्ने एक लाख रुपैया राशीको लघुउद्यमशीलता विकास पुरस्कार यस वर्ष सुर्खेतको वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थालाई प्रदान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्