२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


फाइनान्सियल टेक्नोलोजी विस्तारका लागि विदेशी लगानी ल्याउनुपर्नेमा जोड


65
Shares

काठमाडौं । नेपालमा फाइनान्सियल टेक्नोलोजी ‘फिनटेक’को विस्तार र विकासका लागि विदेशी लगानी ल्याउनु पर्नेमा जोड दिइएको छ ।

नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरीले यस सम्बन्धी गरेको छलफलमा फाइनान्सियल टेक्नोलोजी विज्ञ तथा सरोकारवालाले उक्त जोड दिएका हुन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले इनोभेसनको सुरुवात गर्दा लगानीको सुरक्षा र कानूनी जटिलताको विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विश्वभरिको प्रचलन नै इनोभेसन र रेगुलेसनमा जहिले पनि इनोभेसन अगाडि र रेगुलेसन पछाडि नै हुने गरेको बताउनुभयो ।

राष्ट्र बैंकले विदेशी लगानीका सम्बन्धमा नीतिगत व्यवस्था नै परिमार्जन गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा अनुमति नचाहिने बनाएको उहाँले बताउनुभयो । उहाँले बाहिर लगानी लैजाने सम्बन्धमा भने कानूनी रूपमा नमिले पनि कोही विदेशमा गएर कमाएर उतै लगानी गर्छु भन्छ तर उसलाई विदेशी बैंकले ऋण लगानीमा विश्वास गर्दैन भने नेपाली बैंक ग्यारेन्टी बस्न सक्ने व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।

यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकका डिपार्टमेन्ट हेड माधव रेग्मीले नेपालमा फिनटेकको विकासमा आवश्यक ऐनको अभाव रहेको बताउनुभयो । उहाँले अहिले पनि डिजिटल हस्ताक्षरका लागि बनेको विद्युतीय कारोबार ऐनका आधारमा डिजिटल कारोबार भइरहेको भन्दै ऐन आवश्यक रहेको बताउनुभएको हो ।

यस्तै, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपाली फिनटेक प्लेयरलाई ग्लोबल मार्केटमा लानका लागि कानूनी व्यवधान रहेको बताउनुभयो । उहाँले नेपाली कम्पनी प्रति विश्वसनीयता बढाउनको लागि भए पनि फिनटेकमा विदेशी लगानी चाहिने आवश्यक रहेको बताउनुभयो ।