
काठमाडौं । एकातिर नयाँ थपिएका मतदातामा मतदानको अधैर्य प्रतिक्षा छ भने पटक पटक मतदान गरेर ६० वर्ष नाघेका ज्येष्ठ नागरिकले उम्मेदवार रोजाइमा आफ्नै प्राथमिकता तोकेका छन् । कोही मत नहाल्ने निधोमा पुगेका छन् त कोही चुनावी परिणाम बिर्सिएर जनता हुनुको धर्म पूरा गर्नुपर्ने अडान राख्ने छन् । कोही मतदाता त आफ्नो शाखा सन्तान नै राजनीतिमा लागेका कारण यसलाई नशाको रुपमा छोड्न नसक्ने भन्ने पनि छन् ।
काठमाडौं हरेक राजनीतिक परिवर्तनको निर्णायक थलो हो । मुलुकको राजधानी र चेतनशील नागरिकको बाक्लो उपस्थितिले पनि हरेक राजनीतिक क्रान्तिको गन्तव्य यही भूगोलले पहिल्याउँदै आएको इतिहास छ । राजनीतिक परिवर्तन मात्र होइन, विकासको खाका कोर्ने राजनीतिक नेतृत्वको पहिचानका कारण त्यसको प्रभाव देश विदेशमा पर्ने भएकाले पनि काठमाडौंका मतदाताले प्रयोग गर्ने विवेकको राजनीतिक परिदृश्यमा खास अर्थ रहन्छ । मतदातानै कसलाई मत राख्ने भन्नेमा नै अन्योलमा परेका छन् । मतदाताले अहिलेसम्म नागरिकका लागि भनेर काम गर्ने नेता नै नपाएको बताउछन् ।
चुनावी माहोलले खुसी मात्र ल्याएको छैन । राजनीतिमा लागेको आफ्नो सन्तान गुमेको विगत सम्झिएर कति ज्येष्ठ नागरिकको भक्कानो फुटेको छ । शासन व्यवस्था परिवर्तनपछि धेरैलाई भोट हाल्दा पनि जनताको अवस्था परिवर्तन नभएको दृश्यले केही मतदाताको चित्त अचाक्ली दुखेको रहेछ ।
गोप्य मतदानमा कस्को रुचि कुन उम्मेदवारमा ठोकिएला त्यो निजी विषय भयो । तर धेरै मतदाताको आस्था नयाँ पुस्ता र विकासप्रेमी नेतामा अडिएको छ ।
एकदिनको अविवेकी निर्णयले पछुताउने दिन सिर्जना गर्नसक्छ । त्यसैले समय छँदै जनअधिकारको विवेकपूर्ण निर्णय गर्नु मतदाताको दायित्व हो । मतदाताले प्रतिनिधि फेर्न सक्छ तर उम्मेदवारले मतदाता फेर्न सम्भव छैन ।
प्रतिक्रिया दिनुहोस्