
नारायणी लामिछाने (इमेज)
काठमाडौं, चैत २२ । कोरोना संक्रमणका कारण विश्वका ठूला उद्योगहरु बन्द भएका छन् । उद्योग बन्द भएसँगै विश्वभर रोजगारी तथा आर्थिक क्रियाकलाप प्रभावित भएका छन् ।
महामारीको कारण नेपालको अर्थतन्त्रले पनि ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै अर्थविद्हरुले आन्तरिक उत्पादन बढाउने गरी रणनीतिक कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन् ।
संयुक्त राष्ट्रसंघले कोरोनाका कारण विश्व अर्थतन्त्र एक प्रतिशत खुम्चिने प्रक्षेपण गरेको छ ।
‘कोभिड–१९’ कै कारण विश्व अर्थतन्त्रमा ३० खर्ब डलर हाराहारीको क्षति हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ ।
कोषले अर्थतन्त्रलाई पुरानै अवस्थामा ल्याउन करिब २५ खर्ब डलर लगानी गर्नुपर्ने आँकलन गरेको छ ।
एसियाली विकास बैंकले हालै प्रकाशित गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक रिपोर्ट २०२०’ अनुसार नेपालमा पनि ५.३ प्रतिशतमात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
कोरोनाको प्रभाव बढ्दै गएमा आर्थिक वृद्धि अझै खुम्चने बैंकको अनुमान छ ।
विश्वव्यापी कोरोना महामारीका कारण नेपालमा उद्योग, पर्यटन तथा रेमिट्यान्स क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कुल ग्रार्हस्थ्य उत्पादनमा मुख्य भूमिका रहेका यी क्षेत्र प्रभावित हुने भएकोले सरकारले विभिन्न आर्थिक प्याकेजका कार्यक्रमसमेत घोषणा गरेको छ ।
अर्थविद्हरु यी क्षेत्रलाई प्रभावित पार्नसक्ने भएको भन्दै अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन केही समय लाग्ने बताउँछन् ।
नेपाली अर्थतन्त्रलाई प्रभावित हुन नदिन तीन खर्ब लगानी बढाउनुपर्ने अर्थविद् डा.चन्द्रमणि अधिकारीको सुझाव छ ।
सरकारले आन्तरिक उत्पादन बढाउने रणनीतिक कार्ययोजना तथा विभिन्न क्षेत्रमा देखिने नोक्सानको प्रारम्भिक आँकलन गरी सोहीअनुसार कार्यक्रमहरु ल्याउनुपर्ने डा. अधिकारीले बताए ।
स्वस्थ व्यक्ति र समाज पहिलो आवश्यकता हो । त्यसैले सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमण रोक्नका लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाएर आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्