Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


कैलालीका दासको हत्यामा संलग्न चार पक्राउ


507
Shares

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जनालाई पक्राउ गरिएको छ ।

महानगरीय अपराध महाशाखाले आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जना मध्ये ४ जनालाई रुपन्देही जिल्लाको बेलहिया सिमानाकाबाट बिहीबार राति पक्राउ गरिएको जानकारी गराएको हो ।

यसरी पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी रहेका छन् ।

केही समय भारतको विभिन्न ठाउँमा फरार रहेका उनीहरुलाई कामको खोजी गर्ने क्रममा बेलहिया सिमानाकामा आएको खबर आएपछि स्थानीय प्रहरीको समन्वयमा महाशाखाले खटाएको विशेष टोलीले पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुले दिएको प्रारम्भिक बयानका अनुसार मोवाईल सेट चोरीको आरोपमा दासलाई खुकुरीले घाटी छिनाली हत्या गरिएको थियो । हत्याको आरोपमा सलग्न चारै जनामाथि कर्तव्य ज्यान कसुरमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दायर गरिएको र आजै उनीहरुलाई कैलाली प्रहरीलाई जिम्मा लगाइने पनि प्रवक्ता कोइरालाले बताउनुभयो ।

महाशाखाले हत्या आरोपमा पक्राउ परेकाहरु लागू औषध सेवनमा संलग्न रहेको पनि जनाएको छ ।