-कविराज घिमिरे/ईमेज:
धनकुटा । धनकुटामा पछिल्लो समय अमिलो जातका फलफूलमा रोगको आक्रमण बढ्दै गएको छ ।
विभिन्न रोगका कारण सुन्तलालगायतका फलफूलका कृषक ठूलो क्षति बेहोर्न बाध्य छन् ।
त्यसमा पनि राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटामा कर्मचारी नहुँदा समस्या थप जटिल बनेको छ ।
सुन्तला लगायतका फलफूलमा देखिने समस्या र आधुनिकीकरणका लागि भन्दै धनकुटामा २०१८ सालमा राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारीपात्लेको स्थापना भएको थियो । जुन नेपालकै एकमात्र कार्यालय हो ।
तर कार्यलयका कृषि बैज्ञानीक र प्राबिधिक धमाधम काजमा अन्यत्र सरुवा भएसँगै कार्यालयका काममा समस्या परेको छ ।
मुख्य वैज्ञानिक सहित ८ जनाको दरबन्दी रहेको कार्यालयमा ३ जना वैज्ञानिक मात्रै कार्यरत छन् ।
कृषकहरुका समस्या न्यूनीकरण गर्ने यस्ता कार्यालयमा जनशक्ति नहुँदा किसानहरु सेवा पाउन सकेका छैनन् । जसले कार्यालय नाममा मात्र सीमित बन्न पुगेको छ ।
वैज्ञानिक र प्राविधिकको अभावका कारण कृषकलाई सेवा दिन नसकिएको कार्यलयका प्रमुख वरिष्ठ वैज्ञानिक हरिकृष्ण श्रेष्ठ बताउँछन् ।
अमिलो जातका सुन्तला, जुनार, कागती लगायतका फलफूलमा नयाँ प्रजाति रोग , किरा आदिको पहिचान गर्ने उद्देश्यले स्थापित केन्द्र हुनु र नहुँनुमा खासै अन्तर कृषकले पाएका छैनन् ।
प्राविधिक जनशक्तिको अभावका कारण कार्यालयका प्रयोगशाला कामविहिन बनेका छन् जनशक्ति अभावका कारण अनुसन्धान पुर्णरुपमा प्रभाबित भएको कार्यलयका बैज्ञानिक रोसन पक्का बताउँछन् ।
हाल नेपालका पहाडी २२ जिल्लाको २५ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा अमिलोजातको फलफुलको खेती हुने गरेको छ । तर रोगको प्रकोप बढ्नु र नयाँ प्रजातीको विकास नहुँदा उत्पादन खस्कँदो अवस्थामा छ
यसले कृषिको विकासका लागि हाम्रो प्रतिबद्धता र प्राथमिकता कस्तो छ भन्ने कुरा प्रष्ट पारेको छ ।
कर्मचारी अभावका कारण सेवाविहीन बनेको कार्यालयलाई सशक्त रुपमा चलाउन नसके कार्यालय स्थापनाले मात्र कुनै अर्थ राख्दैन ।









प्रतिक्रिया दिनुहोस्