कञ्चनपुर, साउन २५ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । पछिल्ला वर्षमा निकुञ्जमा घुम्न आउने विदेशी र आन्तरिक पर्यटकको संख्यामा दोब्बरले बृद्धि भएको हो ।
गत आर्थिक वर्ष स्वदेशी र विदेशी गरी ४ हजार ७ सय ४० जनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष निकुञ्ज घुम्ने पर्यटकहरुमा आन्तरिक पर्यटक (नेपाली) ४ हजार २८१ जना, सार्क राष्ट्रका १९३ जना र अन्य मुलुकका विदेशी पर्यटक २६६ जना छन् ।
आर्थिक वर्ष २०७३/०७४ मा २ हजार ६४० जनाले शुक्लाफाँटाको अवलोकन गरेका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीच भागमा ठूलो घाँसे मैदान रहेको र त्यहाँ बाह्रसिंगाको सबैभन्दा ठूलो झुण्ड देखिने भएकाले पर्यटकको रोजाइमा शुक्लाफाँटा पर्ने गरेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले बताए ।
निकुञ्जमा बाह्रसिंगा, बाघ, गैंडा र चरा लगायतका जनावर तथा पशुपंक्षीको अवलोकन गर्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्