Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


भारतको जयनगरदेखि नेपालको खजुरीसम्म आयो रेल, पुस ३ देखि पूर्ण सन्चालन हुने


0
Shares

जनकपुर, साउन २४ । लामो समयदेखि प्रतिक्षारत् जनकपुर–जयनगर रेलवेको सफल परीक्षण गरिएको छ ।

निर्माणाधीन रेलवेको सन्चालनको पहिलो चरणमा बिहीबार सफल परीक्षण गरिएको हो ।

भारतीय पक्षद्वारा निर्माण ठेकेदार इरकान कम्पनीले भारतको जयनगरदेखि नेपालको खजुरीसम्म साढे ८ किलोमिटर दूरीको रेलको सफल परीक्षण गरेको हो ।

रेलसेवा पुनः सन्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले लामो इन्जिन र बोगीसहित परीक्षण गरेको जनकपुरधाम–जयनगर रेलवे साइट प्रमुख इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

जयनगरबाट खजुरीसम्म इन्जिनसहित ५२ ओटा बोगी गिट्टी बोकेर रेल खजुरी स्टेसनसम्म आइपुगेको थियो ।

उक्त रेलले आवश्यक स्थानमा ‘ब्लास्ट’ ओछ्याउने काम गर्नुका साथै सहजरूपमा आवत–जावत गरेको छ ।

सफल परीक्षणपछि रेल सन्चालनमा अब द्विविधा नहुने इरकानका प्रतिनिधिले जनाएका छन् ।

भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर दूरीमा निर्माण भइरहेको ‘ब्रोडगेज’ रेलवेको ३२ किलोमिटरमा लिक र पटरीको काम पूर्णरुपमा सम्पन्न भइसकेको छ भने मात्र ३ किलोमिटर बाँकी रहेको छ । जसमा काम जारी रहेको प्रमुख ओझाले जानकारी दिए ।

चालू वर्षको अक्टोबर महिनासम्म कन्स्ट्रक्सनको काम पूरा भइ आगामी पुस ३ गतेदेखि जनकपुर–जयनगर रेलवे पूर्णरुपमा सन्चालनमा आउने बताइएको छ ।