Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


चाबहिल–साँखु सडक ‘भदौ १२ अगावै मर्मत–सम्भार’, सडकमा पुगे नेता–मन्त्री


0
Shares

रमेश लम्साल (रासस)

काठमाडौं, साउन २४ । घाम लाग्दा धुलोे र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखन्डमा हिँड्ने जो–कोहीलाई हिलो र धुलोले सताएको धेरै भयो ।

तर, यो समस्याबाट भने अब छिट्टै छुट्कारा मिल्ने भएको छ । सरकारले आगामी भदौ १२ अगावै सो सडकको मर्मत–सम्भार गर्ने भएकाले हिलो–धुलोबाट राहत मिल्ने भएको हो ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतको टोलीले बिहीबार सो सडकखन्डको स्थलगत निरीक्षण गरी तत्काल मर्मत–सम्भार गर्ने प्रतिबद्धता जनाएपछि सो क्षेत्रमा यात्रा गर्ने जो–कोहीलाई राहत मिल्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला निकायका उच्च अधिकारीलाई बोलाएर काठमाडौं उपत्यकाभित्र निर्माणाधीन बौद्ध–जोरपाटी र कलंकी–नागढुंगा सडकखन्डको मर्मतमा लाग्न निर्देशन दिएका थिए ।

निर्देशनपछि मन्त्री महासेठलगायतको उच्चस्तरीय टोलीले सडकखन्डको निरीक्षण गरेको हो ।

टोलीले सडकको खाल्डाखुल्डी पुर्ने तथा धुलोे र हिलोको समस्याबाट मुक्ति दिइने प्रतिबद्धता जनाएको हो ।

चाबहिल–साँखु जोड्न कुल १२.५ किलोमिटर सडक स्थानीयवासीले उचित मुआब्जा नपाएको भन्दै अवरोध गरेपछि निर्माणमा ढिलाइ भएको हो ।

सडकछेउका बासिन्दाले मुआब्जा नपाएसम्म काम गर्न नदिने भन्दै संगठितरुपमै अवरोध गर्दै आएका छन् । सकेसम्म उनीहरुको उचित माग सम्बोधन गर्ने सरकारी टोलीले प्रतिबद्धता जनाएको छ ।

कागेश्वरी–मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले सडक मर्मत र निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी ठूलो समस्यामा परेको भन्दै समस्या समाधानमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

सो सडक बनाउन रु एक अर्ब ४५ करोड बजेट छुट्टयाइएको छ । सडकसीमा छुट्याउन समस्या भएकाले निर्माणमा समस्या परेको छ ।

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ र महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामाले सडकसीमा र स्थानीयले मुआब्जा वितरणमा राखेको माग सम्बोधन गर्न समस्या भएकाले कामले गति लिन नसकेको बताए ।

सो सडक चार खन्डमा विभाजन गरेर छुट्टाछुट्टै निर्माण व्यवसायीलाई दिइएको छ । तर, सडकसीमा छुट्टयाउने र मुआब्जा वितरणमा लामो समय लागेकाले समस्या थपिँदै गएको हो ।

सडकसीमा छुट्टयाउने काठमाडौं उपत्यका विकास प्राधिकरण, निर्माण व्यवसायी र सडक विभागकाबीचमा समन्वयको अभाव रहेको वडाध्यक्ष लामाको भनाइ छ ।

स्थानीयले मुआब्जा नपाइ घर तथा आवास भत्काउन नदिने, सडक विभागले समन्वय गर्न नसक्ने र स्थानीय निकायले आवश्यकताअनुसार सहजीकरण गर्न नसक्दा सो सडकखन्डमा आवत–जावत गर्ने यात्रीलाई सास्ती हुने गरेको छ ।

छिटो सक्न नेता नेपालको निर्देशन

स्थलगत निरीक्षणमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले चाबहिल–साँखु सडक निर्माण छिटो सक्न निर्देशन दिए ।

संसदीय अनुगमन समितिमासमेत रहेका उनले सडकको निर्माण अवस्था अनुगमन गर्दै सम्बन्धित पक्षलाई त्यस्तो निर्देशन दिएका हुन् ।

साँखु ऐतिहासिक ठाउँ भएकाले त्यहाँ दिनहुँ हजारौंको आवत–जावत हुने तर सडकको दूरावस्था हुँदा सर्वसाधारण र यात्रीले धेरै दुःख पाइरहेको पूर्वप्रधानमन्त्री नेपालले बताए ।

उनले भने–‘विभिन्न बाहना गरेर निर्माणमा अब आलटाल गर्नुभएन । निर्माण छिटो सक्नुपर्‍यो । काम राम्रो हुनुपर्‍यो ।’

अनुगमनमा काठमाडौं क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य कृष्ण राई र सरिता न्यौपाने, प्रदेशसभा सदस्यद्वय रामेश्वर फुयाँल र मणिराम फुयाँल तथा सडक डिभिजन कार्यालयका प्रमुखसहितको टोली सहभागी थियो ।

मर्मतको काम अगाडि बढेको छ : मन्त्री महासेठ 

मन्त्री महासेठले भदौ १२ भित्रै सो सडकखन्डमा खाल्डाखुल्डी नरहने जानकारी दिए ।

सडकसीमा छुट्टाएको स्थानमा २२ मिटर नै, नभएको स्थानमा ८ मिटर सडक मर्मत तथा कालोपत्र गर्नेगरी व्यवस्था मिलाइएको उनको भनाइ छ ।

यसअघि, कलंकी–नागढुंगा सडकखन्डको स्थलगत अनुगमन गरेका मन्त्री महासेठले भने–‘कालोपत्र गर्न त केही समय लाग्ला । तर, खाल्डाखुल्डी, हिलो र धुलोरहित बनाउन हामी प्रयत्नशील छौं । सोहीअनुसार काम गर्छौं ।’

आयोजनाका इन्जिनियर विश्वविजयलाल श्रेष्ठले चालू आर्थिक वर्षभित्रै सो सडकखन्ड पूर्णरुपमा कालोपत्र हुने बताए ।

पछिल्लोपटक मन्त्रिपरिषदले ८ मिटरमात्रै भएपनि सडक कालोपत्र गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

इन्जिनियर श्रेष्ठले भने–‘समस्या समाधान गर्न हामी सबै असफल भएकै हो । तर, नयाँ व्यवस्थाअनुसार अब कम्तीमा ८ मिटर सडक कालोपत्र हुन्छ । सोहीअनुसार प्रक्रिया अगाडि बढाएका छौं ।’

मुआब्जा वितरण हुन नसक्दा समस्या बल्झिएको भन्दै उनले हिलो र धुलोबाट मुक्ति दिलाउन आयोजनाले प्रयास गरेपनि सम्भव नभएको उल्लेख गरे ।

स्थानीयवासीले सडक मर्मतमा ध्यान नदिएको, निर्माण व्यवसायीले लापरबाही गरेको तथा सरकारले आफूहरुको गुनासोको सुनुवाइ नगरेको भन्दै पूर्वप्रधानमन्त्री, मन्त्री महासेठलगायतको टोलीसँग गुनासो गरेका थिए ।

स्थानीयले मन्त्री महासेठसँग चाबहिल–साँखु सडक कहिले निर्माण सम्पन्न हुन्छ ? हामीले सास्तीबाट कहिले मुक्ति पाउँछौं ? भन्दै प्रश्न गरे ।

जवाफमा मन्त्री महासेठले भने–‘हामी प्रयासरत् छौं । केही समयभित्रै समस्या समाधान हुन्छ ।’

तीन वर्ष पहिलेदेखि सो सडकखन्ड विस्तार सुरु भएपनि अझै काम सकिएको छैन ।