बाँके, साउन २४ । परीक्षणकाक्रममा पटक–पटक मूल नहर भत्किन थालेपछि सिक्टा सिँचाइ आयोजनाको गुणस्तर छानबिन गर्न माग गरिएको छ ।
परीक्षणकाक्रममा दोस्रोपटक यही साउन ७ गते ढकेरीनजिकै नहर भत्किएपछि गुणस्तर छानबिन गर्न माग गरिएको हो ।
पटक–पटक नहर भत्किन थालेपछि राप्ती–सोनारी गाउँपालिकाले सिक्टा सिँचाइ आयोजनाको गुणस्तरमाथि प्रश्न उठाउँदै केन्द्र र प्रदेश सरकारसँग छानबिन गर्न माग गरेको छ ।
परीक्षणकाक्रममा पहिलोपटक २०७३ असार १४ गते सोही स्थानमा नहर भत्किएको थियो ।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निष्कर्षसहित गाउँ कार्यपालिकाको बैठकले नै गुणस्तर छानबिन गर्नुपर्ने निर्णय गरेको जानकारी दिए ।
वडा नम्बर–२ का वडाध्यक्ष मदन ओलीले सिक्टा सिँचाइ आयोजनाको गुणस्तरका कारण गाउँबस्तीमा जोखिम निम्त्याएकाले केन्द्र र प्रदेश सरकारले गुणस्तर जाँच गरी ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।
सरकारले विशेष प्राथमिकतामा राखेको आयोजनाले बाँकेको कृषि क्षेत्रलाई कायापलट गर्ने अपेक्षा राखिएको छ ।
तर, परीक्षणकैक्रममा पटक–पटक आयोजनाको मूल नहर भत्किन थालेपछि कामको गुणस्तरबारे चौतर्फीरुपमा प्रश्न उठिरहेको छ । रासस









प्रतिक्रिया दिनुहोस्