नवीन शर्मा र भरत केसी (इमेज)
काठमाडौं, फागुन १३ । चौतर्फी विरोध हुँदा–हुँदै पनि पशुपति क्षेत्रमा रहेको नेपाल–भारतमैत्री धर्मशाला तोडफोड गरेर व्यापारिक समूहले होटल बनाउने काम धमाधम भइरहेको छ ।
भारत सरकारले भक्तजनहरुको सुविधाका लागि बनाइदिएको धर्मशाला तोडफोड गरेर तीनतारे होटल बनाउन पशुपति क्षेत्र विकास कोषले नै व्यक्तिलाई दिएको हो ।
धर्मशालामा धार्मिक प्रयोजनका लागि आउने तीर्थालुलाई सुलभ दरमा बस्ने र खाने प्रबन्ध हुनुपर्ने हो ।
तर, पशुपति क्षेत्र विकास कोषले धर्मशालालाई व्यापारिक प्रयोजनमा दिने गरी सम्झौता गरेको छ । यो धर्मशाला तीनतारे होटलमा रुपान्तरित हुँदैछ ।
कोषका सदस्यसचिव डा. प्रदीप ढकाल निजी कम्पनीलाई धर्मशाला सञ्चालनको जिम्मेवारी दिनेगरी सम्झौता गरिएको बताउँछन् ।
अहिले धर्मशाला तोडमोड गरिँदैछ । ३८८ कोठाबाट घटाएर ८० ओटा बिलासी कोठा बनाइएको छ ।
अब यो धर्मशाला रहेन । विलासी होटलमा परिणत हुन लागेकाले यसमा ‘सुइट’ र ‘डिलक्स रुम’हरु बनिरहेका छन् । ती कोठाको शुल्क प्रतिदिनको दुई हजार ९०० रुपैयाँसम्म पर्नेछ । वरपरका अन्य होटलभन्दा यसको शुल्क तीन गुणा महँगो हुनेछ ।
यहाँ तीनतारे होटल बनाउन लागिएको होटेल सञ्चालक निरञ्जल श्रेष्ठले जानकारी दिए ।
विकास कोषको स्वामित्वमा रहेको तिलगंगामा ०५३ मै धर्मशाला बनाउन थालिएको थियो ।
चर्चित भारतीय धर्मगुरु शंकराचार्य नेपाल आउँदा धर्मशालाको शिलान्यास भएको थियो । निर्माण भने ०७२ को भूकम्पपछिमात्रै सुरु भयो ।
भारत सरकारले २४ करोड रुपैयाँ खर्चेर बनाएको धर्मशाला व्यापारिक प्रयोजनमा लगाएर पशुपति क्षेत्र विकास कोषले ‘बाँदरको हातमा नरिवल’को आख्यान सम्झाइदिएको छ ।






प्रतिक्रिया दिनुहोस्