काठमाडौं, फागुन १२ । काठमाडौं उपत्यकामा रहेका पुराना पाइपहरु क्रमशः विस्थापित हुने भएका छन् ।
मेलम्ची खानेपानी आयोजनाका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेकै पाइपबाट सबै पानी वितरण गर्ने हुँदा पुराना पाइप अब प्रयोगमा नआउने भएको छ ।
हालका लागि पुरानै पाइपबाट पानी वितरण भएपनि आगामी वर्षबाट निर्देशनालयले निर्माण गरेकै पाइपबाट पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।
उनकाअनुसार पुराना पाइप प्रयोगमा नआउँदा अहिले रहेकै स्थानमा छाडिनेछ ।
१०० वर्षभन्दा पुराना पाइप पुनः प्रयोगमा आउनसक्ने सम्भावना कम रहेको छ । उनले भने–‘ती पाइप निकाल्दा खर्च लाग्ने र सडक भत्कने हुँदा त्यसै छाडिनेछ ।’
मेलम्चीको पहिलो चरणमा मेलम्चीबाट आउने झन्डै १७ करोड र उपत्यकामा हाल केयुकेएलले वितरण गरिरहेको झन्डै चार/पाँच करोड गरी नयाँ बनेका पाइपबाट दैनिक झन्डै २४ देखि २५ करोड लिटर पानी वितरण हुने प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए ।
निर्देशनालयले बिच्छ्याएका पाइपमा उपत्यकाकै स्रोतबाट पानी हालेर परीक्षण भइरहेको छ । मेलम्चीकै पानी हालेर परीक्षण भने गर्न बाँकी रहेको उनले बताए ।
उनले भने–‘निर्देशनालयले मेलम्चीको पानी हालेर पाइपको अवस्था, चुहावटलगायतका बारेमा बुुझिनेछ ।’
निर्देशनालयले हाल निर्माण गरिरहेका संरचना सम्पन्न भएपछि केयुकेएललाई नै हस्तान्तरण गर्नेछ ।
केयुकेएलले हाल वितरण गरिरहेको पानी र मेलम्चीबाट थप हुने पानी वितरणका लागि आवश्यक तयारी अघि बढाइरहेको छ । रासस





प्रतिक्रिया दिनुहोस्