Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


‘कोरोना’का कारण नेपालको पर्यटन क्षेत्र प्रभावित, राष्ट्रिय गौरवका आयोजनामा असर


0
Shares

काठमाडौं, फागुन १० । चीनमा फैलिएको ‘नोबल कोरोनाभाइरस’को असर नेपालको स्थानीय बजार तथा पूर्वाधार क्षेत्रमा समेत देखिन थालेको छ ।

स्थानीय बजारमा चीनबाट आयात हुने कपडा, खाद्य सामग्रीको मूल्य बढ्न थालेको छ भने चिनियाँ लगानीका साना–ठूला आयोजनाको काम प्रभावित बनेका छन् ।

यस्तै, पर्यटन उद्योगमा समेत प्रत्यक्ष असर देखिन थालेको छ ।

चिनियाँ लगानीमा सञ्चालित राष्ट्रिय गौरवका ठूला आयोजनामा झन् बढी असर परेको छ ।

कामदार तथा प्रविधि चीनमै रोकिएपछि मेलम्ची खानेपानी, चक्रपथ विस्तार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न तीन विमानस्थलको काम प्रभावित भएको छ ।

विज्ञहरुकाअनुसार यसको दूरगामी असर नेपालको अर्थतन्त्रमा पर्नेछ ।

अर्थविद् डा. भवानीप्रसाद ढुंगाना आयोजना तथा परियोजनामा ढिलाइ हुँदा समयमै काम नहुनुको साथै पुँजीगत खर्चसमेत कम हुने बताउँछन् ।

श्रम विभागकाअनुसार यस वर्ष दुई हजार २०४ जना चिनियाँ कामदारले श्रम स्वीकृति लिएका छन् ।

नयाँ वर्ष मनाउन गएका कामदार नफर्कंदा २० ओटा जलविद्युत् आयोजनाको कामसमेत प्रभावित भएको छ ।

कोरोनाकै कारण यो वर्ष १० लाख चिनियाँ पर्यटक भित्र्याउने सरकारी लक्ष्यमा समेत धक्का पुग्ने देखिएको छ ।

चीनबाट नेपाल भित्रिने सबैजसो नाका बन्द रहेकाले स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकको संख्यामा पनि कमी आएको छ । यसको प्रभाव भ्रमण वर्ष २०२० मा समेत पर्ने ढुंगानाको भनाइ छ ।

२०२० को जनवरीमा १२ हजार ३०३ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागकाअनुसार फेब्रुअरीमा चिनियाँलगायत चीन हुँदै नेपाल भित्रिने अन्य देशका पर्यटकको संख्यामा समेत कमी आएको छ ।

स्थलमार्गको नाका बन्द भएकै कारण स्थानीय बजारसमेत प्रभावित भएको छ ।