Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


कृषि उत्पादनको न्यूनतम् समर्थन मूल्यसहित बजार व्यवस्थापनको माग


0
Shares

काठमाडौं, साउन २२ । कृषि उत्पादनको न्यूनतम् समर्थन मूल्यसहित बजार व्यवस्थापन र उत्पादित वस्तुको सहज निर्र्यातको व्यवस्थाका लागि राष्ट्रिय कृषक समूह महासंघ नेपालले सरकारसँग आग्रह गरेको छ ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै कृषि उत्पादनलाई दोब्बर बनाइ समृद्धितर्फ लम्कने सरकारको सपना पूरा गर्न श्रमको उचित मूल्य पाउने किसानको अधिकारमा ध्यान दिनुपर्ने जनाएको छ ।

यसका लागि कृषि उपजमा न्यूनतम् समर्थन मूल्यसहितको बजार व्यवस्थापन र सहज निर्यातका लागि पहल गर्न महासंघले सरकारसँग माग गरेको हो ।

राज्यको अदूरदर्शीता र व्यवस्थापनको कमजोरीकै कारण काठमाडौं उपत्यकासहित पाँचथर, चितवन, धादिङ, काभ्रेलगायत जिल्लाका किसानहरु प्रत्यक्ष मारमा परेको जनाइएको  छ ।

विशेषगरी यस क्षेत्रका गोलभेंडा उत्पादन गर्ने किसान बढी मारमा परेको महासंघले जनाएको छ ।

स्थानीय बजार व्यवस्थापन अभाव, न्यूनतम् समर्थन मूल्य नतोकिनु र अन्तर्राष्ट्रिय बजारका लागि निर्यात वस्तुको सूचीमा गोलभेंडालाई नराख्दा करिब १ लाख ३० हजार प्लास्टिक टनेलमा उत्पादित गोलभेंडाले बजार पाउन नसकेको जनाइएको छ ।

कृषकले आफ्ना उत्पादन सडकमा मिल्काउँदासमेत सरोकारवालाहरुले चासो नदिएको भन्दै महासंघले दुःख व्यक्त गरेको छ । यस्ता कारणले किसानहरु निराश बन्दै गएको उसको भनाइ छ ।

यस क्षेत्रको समस्याको दीगो समाधानका लागि महासंघले माग गरेको छ ।