-डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । बाग्लुङको पर्यटन प्रवद्धर्नको लागि विभिन्न स्थानमा होमस्टे संचालनमा आएका छन् ।
संचालनमा आएका होमस्टेमध्ये अधिकांश सामुदायिक रहेका छन् भने केहीले व्यक्तिगत लगानीमा संचालनमा ल्याएका छन् ।
निसीखोला गाउँपालिका–२ मा रहेको अर्नाकोटमा पाँच जनाको साझेदारीमा अर्नाकोट सामुदायिक होमस्टे स्थापना भएको छ ।
स्थानीय टेकबहादुर कुँवरको नेतृत्वमा अन्य चार जनाले होमस्टे संचालनमा ल्याएका हुन् ।
होमस्टेमा कुँवरसँगै लालबहादुर कुँवर, टोपबहादुर कुँवर, ललिता कुँवर र ओमकुमारी कुँवरले लगानी गरेका छन् ।
उनीहरुले केही महिना अगाडी मात्रै २५ लाख रुपैयाँमा होमस्टे संचालनमा ल्याएका हुन् ।
निसीखोला गाउँपालिकाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य मानिने अर्नाकोट क्षेत्रमा आउने पर्यटकलाई होमस्टेले सघाउ पुगेको छ ।
होमस्टेमा आउने पर्यटकलाई स्थानीयहरुले पुरानो रोइला, सोरठीलगायतका कला संस्कृति देखाउने गरेका छन् ।
उनीहरुले विशेषगरी स्थानीय स्तरमा उत्पादन हुने सिस्नो, आटो, ढिँडो, कोदोको रोटी, लोकल कुखुरा, खसी बोकाको मासु खुवाउने गर्दछन् ।
होमस्टे संचालनमा आएपछि अर्नाकोटमा आन्तरिक पर्यटकहरु समेत बढेको होमस्टे संचालक लालबहादुर कुँवर बताउँछन् ।
बाग्लुङ सदरमुकामदेखि करिब १ सय १० किलोमिटर पश्चिममा रहेको यो होमस्टेमा करिब पाँच घण्टाको गाडीको यात्रामा पुग्न सकिन्छ ।
यो होम–स्टेबाट अर्नाकोट मन्दिरमा पुग्न करिब पाँच मिनेट पैदल यात्रा गर्नुपर्छ ।
जहाँबाट धौलागिरी, अन्नपूर्ण हिमाल, सुर्तिबाङको धुरी, गुल्मीको रेसुङगा, तिन बहिनी लेक, गाजाको लेकलगायत दर्जनौँ पर्यटकीय स्थलहरु नजिकैबाट निल्याल्न सकिन्छ ।
यस ठाउँको प्रवद्धर्नको लागि निसीखोला गाउँपालिकाले मोटरबाटोले जोड्ने र थप पूर्वाधार विकास गर्दै जाने निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल बताउँछन् ।
वातावरणिय हिसावले शान्त र स्वच्छ भएको हुँदा यस्तो ठाउँ धेरैलाई पुग्न र त्यहाँको वातावरणसँग रम्न मन जोहोकोहीलाई लाग्ने गर्छ ।
यस क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटकलाई भित्र्याउनको लागि गाउँपालिकाले पूर्वाधार निर्माणलागयतका काम गर्नुपर्ने देखिन्छ ।





प्रतिक्रिया दिनुहोस्