२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पशुपति क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने अभियानमा व्यापारी बाधक


0
Shares

नवीन शर्मा र विनोद बजगाइँ (इमेज)

काठमाडौं, फागुन ८ । हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपतिनाथ परिसरमा अवैधरुपमा बनाइएका छाप्रा, सटर तथा अन्य संरचना हटाउन पटक–पटक कोषले दिएको समय गुज्रिएको छ ।

तर, पशुपति क्षेत्रलाई नै कुरुप बनाइरहेका संरचना हटाउने पशुपति क्षेत्र विकाष कोषको अभियानलाई केही व्यापारीले चुनौती दिइरहेका छन् ।

विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने पशुपति क्षेत्र विकास कोषको अभियानमा पाशुपत क्षेत्रमै व्यापार, व्यवसाय गरेर बसेका व्यापारी बाधक बनेका छन् ।

कोषले पशुपतिनाथ क्षेत्रको सौन्दर्यमा नकारात्मक असर परेको र भक्तजनलाई हिँड्डुल गर्न समस्या परेको भन्दै त्यहाँ रहेका पसल तथा टहरा खाली गर्न तीनपटक सूचना निकालिसकेको छ ।

तर, अवैधरुपमा बनाइएका टहरामा बसेर व्यापार, व्यवसाय गरिरहेका व्यापारीहरु व्यापार गर्ने वैकल्पिक स्थान तोक्नुपर्ने अडानमा छन् ।

यता, कानुनअनुसार बल प्रयोग गरेर टहरा खाली गर्ने चेतावनी दिइरहेको कोष सूचना निकालेर पन्छिरहेको छ भने व्यापारीहरु राजनीतिक तथा प्रशासनिक दबाब सिर्जना गरिरहेका छन् ।

कोषले वन गणेशनजिकै ६४ कोठे भवन तयार भएको र फूल–प्रसाद बेच्ने व्यवसायीलाई पहिलो चरणमा एकै ठाउँमा स्थानान्तरण गरिने जनाएको छ ।

वर्षौंदेखि निर्वाद कोषले तोकेको भाडा तिरेर व्यापार गरिरहेकाहरु कोषले वन गणेशनजिकै बनाएको नयाँ भवन सबैका लागि पर्याप्त नरहेकाले आफूहरुका निम्ति गरिखाने विकल्प दिनुपर्ने अडानमा छन् ।

कोषले हालै निर्माण सम्पन्न गरेको नयाँ भवनमा बसेर व्यापार, व्यवसाय गर्न व्यवसायी तयार छन् । तर, सबैका लागि उक्त भवनमा स्थान अभाव छ ।

पशुपति विकास कोषले पाशुपत क्षेत्रलाई व्यवस्थित बनाउन वर्षौंदेखि विश्व सम्पदा क्षेत्रमा हुनुपर्ने मापदण्डअनुसारका संरचना विकास गरिरहेको छ । त्यसका निम्ति पनि पशुपतिनाथ क्षेत्रमा रहेका सयौं पसल बाधक बनेका छन् ।

भिडियो हेर्नुहोस्