Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


‘एमसीसी’अन्तर्गत् नयाँ प्रविधिबाट सडक निर्माण गर्ने तयारी


0
Shares

नारायणी लामिछाने (इमेज)

काठमाडौं, फागुन ७ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताअन्तर्गत् नेपालमा नितान्त नयाँ प्रविधिमा आधारित सडक निर्माण गरिने भएको छ ।

पूर्व–पश्चिम राजमार्गको विस्तार र मर्मत–सम्भारमा पहिलोपटक ‘फुल डेप्थ रिसाइक्लिङ’ र ‘सुपरवेभ’ प्रविधि प्रयोग गर्ने तयारी एमसीसी नेपालको कार्यालयले गरेको छ ।

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संघीय संसदबाट पारित हुन बाँकी छ ।

परियोजनाअन्तर्गत् नेपालमै पहिलोपटक फुल डेप्थ रिसाइक्लिङ (एफडीआर) र सुपरवेभ प्रविधि प्रयोग गरेर सडक मर्मत गरिँदैछ ।

पूर्व–पश्चिम राजमार्गको चन्द्रौटादेखि शिवखोला खण्डको १०० किलोमिटर सडक मर्मत–सम्भारमा यो प्रविधि प्रयोग गरिने छ ।

एमसीसी सम्झौतामा ३०५ किलोमिटर भनिएपनि परियोजनाले सो ठाउँको विश्लेषणात्मक अध्ययनपछि १०० किलोमिटर सडकमात्र बनाउन लागेको ‘एमसीए’ नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिएका छन् ।

नयाँ प्रविधिसहित सडक निर्माणका लागि आवश्यक मेसिन नेपाल ल्याइसकिएको छ । चार लेनको सडक बनाउन यो प्रविधि उपयोगी हुने ठानिएको छ ।

कालोपत्रे भए/नभएका सडकको ‘अस्फाल्ट’ कालोपत्रे निकालेर त्यसमा नयाँ अस्फाल्ट र अन्य रसायनहरू थपी सडक निर्माण गरिने छ ।

सुरुमा प्रविधि भित्र्याउन लागत बढी हुने भएपनि सडक गुणस्तरदेखि सडकको आयु बढाउन निकै उपयोगी हुने र १२ देखि १५ वर्षसम्म मर्मत–सम्भार गर्नु नपर्ने विष्ट बताउँछन् ।

विकसित देशहरुमा प्रचलनमा रहेको यो प्रविधिबाट १०० किलोमिटर सडक निर्माणका लागि चार अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

०७७ साल असार १६ गतेपछि एमसीसी परियोजना सुरु भएलगत्तै सडक निर्माणको काम पनि अघि बढ्ने छ ।