Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


महाधिवेशन गराउन कांग्रेस नेतृत्वलाई नेविसंघको दवाव


117
Shares

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरूले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरूलाई दवाव दिन सुरु गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दवाव दिन सुरु गरेका हुन् ।

नेविसंघलाई गतिशील बनाइ क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरूलाई दवाव दिने अभियान सुरु गरिएको नेविसंघमा आवद्ध विद्यार्थी विनोदराज जोशीले बताउनुभयो ।

त्यसक्रममा विद्यार्थीहरूले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दवाव दिँदै पार्टीका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई अनुरोधपत्र पनि बुझाएका छन् ।

पत्र बुझ्दै कांग्रेस केन्द्रिय सदस्य महरले नेविसंघलगायतका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरूलाई अनौपचारिक रूपमा दवाव दिँदै आएको र अब बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमै छलफल गराउने प्रतिवद्धता जनाउनुभयो ।

महरले पार्टी पदाधिकारीहरूसमेत भातृ संस्थाहरूको महाधिवेशन छिटो गराउन गम्भीर नभएको उल्लेख गर्दै उनीहरूमाथि दवाव दिन नेविसंघमा आवद्ध विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

पार्टीको विधान र संघीयताको भावना अनुसार कांग्रेस भातृ संस्थाहरूको विधान मस्यौदा भए पनि पार्टीले स्विकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरू पूरानै विधानमा चलिरहेका छन् ।