काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश उच्च आर्थिक वृद्धिको गतिमा अघि बढेको दाबी गरेका छन् ।
सरकारको कार्यकाल दुई वर्ष पुगेको अवसरमा शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै आर्थिक सूचकहरु सकारात्मक भएको तथा विश्वको उच्च आर्थिक विकास गर्ने १० देशमा नेपाल पनि परेको भन्दै मुलुक उच्च आर्थिक गतिमा अघि बढेको उल्लेख गरे ।
निर्यात बढेको र आयात घटेको, त्यसैगरी, पुनःनिर्माणले गति लिएको उनको भनाइ थियो ।
सरकारले आगामी तीन वर्षमा रेलमार्गको विकासलाई जोड दिइ यसलाई ‘गेमचेन्जर’ परियोजनाको रुपमा अघि बढाउने तथा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिने बताए ।
प्रधानमन्त्री ओलीले आगामी दिनमा पुँजीगत खर्च बढ्ने गरी आयोजना तथा परियोजनाको विकासमा जोड दिने बताए ।
सरकारले चाँडै नै टोखा–छहरे सुरुङमार्गको विकास तथा पूर्व–पश्चिम रेलमार्गको समेत सुरुआत गरिने उनले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले नवलपरासीको धौवादीमा फलाम उत्खनन गर्न कम्पनी स्थापना गरिएको भन्दै सो ठाउँमा करिब ३० वर्ष प्रतिदिन ८०० टन फलाम उत्पादन हुने बताए ।
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुरु गरिएको भन्दै नेपालले निकट भविष्यमै विद्युत् निर्यात गर्न सक्षम हुने जिकिर गरे ।





प्रतिक्रिया दिनुहोस्