Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


बजेटको आकार डेढ खर्ब घटाएर १३ खर्ब ८५ अर्बमा झारियो


0
Shares

काठमाडौं, माघ २९ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ ।

मन्त्रालयले बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्बबाट घटाइ १३ खर्ब ८५ अर्बमा सीमित गरेका हुन् । यो कुल विनियोजित बजेटको तुलनामा ९०.४ प्रतिशत हो ।

घोषणा गरिएको बजेटको आकारमा एक खर्ब ४७ अर्ब घटाइएको हो ।

यस्तै, मन्त्रालयले यस वर्ष विनियोजित बजेटको चालूतर्फ ९४.५ प्रतिशत, पुँजीगततर्फ ८०.१ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ९२ प्रतिशत खर्च हुने अनुमान गरेको छ ।

चालू आर्थिक वर्षमा राजस्व पनि कम उठ्ने जोखिम रहेको डा. खतिवडाले बताए । अन्य आर्थिक सूचकहरु भने सकारात्मक रहेको उनले उल्लेख गरे ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा राजस्व संकलन तथा आन्तरिक ऋण ११ खर्ब ३२ अर्ब, वैदेशिक अनुदानतर्फ ४३ अर्ब ५५ करोड तथा वैदेशिक ऋण तर्फ दुई खर्ब ९ अर्ब परिचालित हुने संशोधित अनुमान रहेको छ ।

यस्तै, आर्थिक वर्षको पहिलो ६ महिनामा कुल विनियोजित बजेटमध्येको २७.६ प्रतिशतमात्रै खर्च भएको छ ।

यस्तै, चालूतर्फ ३२.४ प्रतिशत, पुँजीगततर्फ १५.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २९.९ प्रतिशतमात्रै खर्च भएको छ ।

नेपाल सरकारको तर्फबाट गत आर्थिक वर्षको यसै अवधिभन्दा ६.० प्रतिशतले खर्च बढेको तथा वैदेशिक अनुदानबाट व्यहोर्ने खर्च गत वर्षभन्दा ८४.० प्रतिशत तथा वैदेशिक ऋणतर्फ भने ७९.२ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा निर्यातमा अघिल्लो वर्षको तुलनामा २६.१ प्रतिशतले वृद्धि भएको तथा आयात ४ प्रतिशतले घट्दा व्यापार घाटामा केही सुधार आएको मन्त्रालयले जनाएको छ ।