२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


जितपुरसिमरामा सार्वजनिक ‘मसानघाट’समेत भूमाफियाको कब्जामा


0
Shares

-प्रकाश लम्साल/ईमेज

बारा । नियामक निकायको मौनता र मिलेमतोकै कारण बाराको जितपुरसिमरास्थित सार्वजनिक मसानघाट समेत भूमाफियाको कब्जामा परेको छ ।

राष्ट्रिय गौरवका आयोजनासहितका महत्वपूर्ण आयोजना रहेको सो क्षेत्रमा सार्वजनिक जग्गालाई कीर्ते गरी व्यक्तिको नाममा ल्याउने खेल चलिरहेको हो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका ४ मा ६ बिघा ८ कठ्ठा क्षेत्रफलमा फैलिएको सार्वजनिक मसानघाट प्रोपटी म्यानेजमेन्ट प्रालीले कित्ताकाट गरी विक्रीसमेत गरेको खुलासा भएको छ ।

मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को सो जग्गा २०४७ साल साउन ३० गते सरकारको ऐलानी श्रेस्ता बदर गरी भूमाफियाले कीर्ते गरेर करोडौं रकममा बेचेको पाइएको हो ।

प्रोपटी म्यानेजमेन्ट प्रालीले उद्योगपति तथा वीरगञ्ज महानगरका प्रमुख विजय सरावर्र्गी, एभरग्रीन तराई हस्पिटल, सुनिता अग्रवाललगायतका व्यक्ति र बाँकी जग्गा कम्पनीका सञ्चालक ईच्छा बहादुर बाग्लेको नाममा नामसारी गरेको देखिएको छ ।

स्थानीय तहले आफू मातहतका सार्वजनिक जग्गाको संरक्षणमा चासो नदेखाउँदा  भूमाफियाको कब्जामा परेको मालपोत कार्यालयले जनाएको छ ।

उता वडा नम्बर ४ का वडाध्यक्ष ईश्वर केसी निजी श्रेस्ता कायम गरिएको मसानघाटको उक्त जग्गा सार्वजनिक गर्न सम्बन्धित निकायलाई जानकारी गराएको बताए । 

सिमरा आसपासका मानिसले पचासको दशकअघिसम्म दाहसंस्कारका लागि सोही ठाउँ प्रयोग गर्ने गरेका र पछि पानीको मुहान सुक्दै गएपछि अहिले संस्कार अन्यत्रै गर्न थालेका छन् । मसानघाटमा प्रोपटी मेनेजमेन्ट प्रालीले घरेडी बनाउने क्रममा तटबन्ध समेत गरेको छ ।

मालपोत कार्यालय सिमराका प्रमुख यादव आर्चायले जितपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किता मसानघाट उल्लेख भए पनि किर्ते गरी विभिन्न व्यक्तिको नाममा सारिएको जानकारी दिए ।

जिल्लामा रहेका १६ स्थानीय तह नै आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक, सरकारी र गुठीको जग्गाको अवस्थाका बारेमा अनभिज्ञ छन् ।

मालपोत कार्यालयको २०६४ सालको तथ्यांकअनुसार बारामा मात्रै २४ सय ५४ बिघा गुठीबाहेकको सरकारी जग्गा रहेको छ ।