
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ ।
२४ औं भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको बताउनु भएको हो ।
उहाँले कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायहरुले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको समेत बताउनु भयो । मन्त्री खाँणले भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्सानीलाई कम गर्न सकिने बताउनु भयो ।
गृहमन्त्री खाँडले भन्नुभयो, ‘हामी सबै विषम परिस्थितीमा छौं । कोरोनाको तेस्रो लहरको कारण नेपाली जनता अहिले आक्रान्त भएका छन् । सरकारसहित सबै निकायले आम नेपालीहरुको जीवन रक्षाका लागि संक्रमणको रोकथाम, व्यवस्थापन गरिरहेका छौं । स्थानीय जनप्रतिनिधिहरुलाई निर्माणको हाम्रो प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न अनुरोध गर्दछु । यो गर्न सके विगतमा भएका ठूला नोक्शानीलाई रोक्न सक्छौँ । व्यवस्थापन गर्न सक्छौँ ।’
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा भूकम्पले क्षति बनाएको केही भौतिक संरचना अझै बन्न नसकेको बताउनु भयो ।
उहाँले महानगरले आफूसँग पर्याप्त बजेट भएको र संरचना बनाउँछु भन्दा पनि सरकारले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासो समेत गर्नु भयो । मेयर शाक्यले टेको लगाएर राखिएका भवनहरु वर्षा हुँदा समेत भत्किने खतरा रहेको भन्दै भवन बनाउने अनुमति दिन सरकारसँग आग्रह गर्नुभयो ।
मेयर शाक्यले भन्नुभयो, ‘समन्वय नहुँदा अहिले पनि केही मठ मन्दिर, केही त्यस्ता संरचनाहरु टेको लागेका छन् । कसले बनाउने, गुठीले बनाउने कि ? पुरातत्वले बनाउने कि, महानगरले बनाउने ? भन्ने दोधार छ । हामी बनाउँछौं, हामीसँग पर्याप्त बजेट छ भन्दा भन्दै अहिलेसम्म स्वामित्व हस्तान्तरण नगरेको, जिम्मेवारी नदिएको कारणले अहिले पनि केही घरहरु शहर भित्रै टेको लगाएका देख्न सक्नुहुन्छ । त्यसलाई समन्वय गरिदिन मान्य गृहमन्त्रीलाई अनुरोध गर्दछु । नेपाल सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा, पुरातत्व गुठी संस्थानसँग समन्वय नहुँदा लालपूर्जा एकसँग हुने उसले नबनाउने । हामीलाई पनि बनाउन नदिँदा त्यस्ता भवनहरु रहेका छन् । अहिले पनि भूकम्प नजाँदा पनि सामान्य वर्षा हुँदा पनि भत्किन सक्ने भएकोले त्यस्ता भवनहरु बनाउन अत्यावश्यक भइसकेको छ ।’
मेयर शाक्यले विभिन्न आगजनीका घटनाबाट हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा दमकल सेन्टर सञ्चालन गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग नेपाल सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्