२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


निजी क्षेत्रका अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार : प्रधानमन्त्री


0
Shares

काठमाडौं, माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार आयोजना गरेको ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

उनले निजी क्षेत्रका अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे ।

निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको भन्दै उनले निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको उल्लेख गरे ।

उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरुपमा साथ रहने विश्वास दिलाए ।

निजी क्षेत्रलाई विश्वस्त भएर काम गर्न भन्दै उनले कुनै अप्ठ्यारो आए आफूलाई निर्धक्क भन्नसमेत सुझाए ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सिआइपी सम्मानबाट निजी क्षेत्रको मनोबल बढेको बताए ।

मुलुकमा लगानीको वातावरण बनाउन सरकार सदैव क्रियाशील रहेको उल्लेख गर्दै उनले राज्य सधैं व्यवसायीको साथमा रहेको र व्यापार–व्यवसायमा कुनै व्यवधान आउन नदिने प्रष्ट गरे ।

मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका २५ व्यवसायीलाई सरकारले (सिआइपी)बाट सम्मान गरेको हो ।

सम्मानित व्यवसायीले विमानस्थलमा भिआइपीकक्षसहित अन्य विभिन्न सुविधा पाउने छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सिआइपी सम्मानबाट व्यवसायीमा उत्साह थपिएको बताइन् । राणाले समृद्धिको यात्रामा सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताइन् ।