काठमाडौं, साउन २१ । नेपाल आयल निगमले पुँजी वृद्धि गर्न सर्वसाधारणलाई पनि सेयर जारी गर्ने तयारी गरिरहेको छ ।
निगमको हाल चुक्तापुँजी ११ अर्ब रुपैयाँ रहेको छ ।
निगमको हालै सम्पन्न साधारणसभाले सेयरपुँजी थप गर्ने निर्णयगरी चुक्तापुँजी २९ करोडबाट बढाएर ११ अर्ब पुर्याएको थियो ।
निगमले आफ्नो सञ्चित मुनाफालाई बोनस सेयरमा परिणत गर्दै चुक्तापुँजी बढाएको हो ।
निगमले थप सेयर जारी गरी थप पुँजी वृद्धि गर्ने योजना बनाएको छ ।
निगमले निकट भविष्यमै सर्वसाधारणलाई सेयर जारी गरी ३० अर्ब पुँजी पुर्याउने सोच बनाएको हो ।
दैनिक अर्बौंको कारोबार गर्ने निगमको चुक्तापुँजी पनि सोहीअनुसार पुर्याउनुपर्ने सोचअनुसार सेयर जारी गर्ने तयारी भइरहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
हाल निगममा सरकारको सबैभन्दा बढी ९९.४६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
त्यसपछि नेसनल ट्रेडिङको ०.२५६ प्रतिशत, राष्ट्रिय बिमा कम्पनीको ०.१५३ प्रतिशत, नेपाल बैंकको ०.०७७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ०.०१५३ प्रतिशत सेयर निगममा रहेको छ ।
निगममा सरकारको स्वामित्व ५५ प्रतिशतमात्र कायम हुनेगरी सेयर जारी गरिनसक्ने जनाइएको छ ।
तर, सेयरको यकिन परिमाणबारे भने अहिले नै भन्न नसकिने गोइतले उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्