Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


राष्ट्रपति भण्डारीद्वारा पुनःनिर्माण भइरहेका ऐतिहासिक सम्पदाहरुको अवलोकन (भिडियो)


0
Shares

शंकर खनाल र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, माघ २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त साँस्कृतिक तथा धार्मिक पुरातात्विक सम्पदा पुनःनिर्माणमा चासो देखाएकी छन् ।

२०७२ वैशाखमा गएको भूकम्पले विश्व सम्पदामा सूचीकृत कतिपय पुरातात्विक संरचना भग्नावशेषमा परिणत भएको चार वर्ष बितिसकेको छ ।

चार वर्षपछि राष्ट्रपति भण्डारीले सम्पदाको पुनःनिर्माणको अवस्थाबारे स्थलगत अवलोकन गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका साँस्कृतिक तथा धार्मिक संरचनामध्ये सबैभन्दा पहिले पुनःनिर्माण भइरहेको रानीपोखरीको स्थलगत अवलोकन गरेकी छन् ।

राष्ट्रपति भण्डारी शनिबार रानीपोखरी पुगेकी थिइन् ।

निर्माणकार्य भइरहेको रानीपोखरी पुगेपछि उनले रानीपोखरीको निर्माण सम्पन्न हुने समय र यसको ऐतिहासिक महत्वको बारेमा जिज्ञासा राखेकी थिइन् ।

रानीपोखरी निर्माण समितिअन्तर्गत् निर्माण भइरहेको पोखरीको पिँध र पोखरी वरिपरिका पर्खाल, बालगोपालेश्वर मन्दिर, पुल निर्माण र रानीपोखरीको सौन्दर्यताका बारेमा राष्ट्रपतिले जानकारी लिएकी थिइन् ।

रानीपोखरीको २०७७ वैशाखमा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी, राष्ट्रपति भण्डारीले रानीपोखरीनजिकै रहेको दरबार हाइस्कुलको पनि निरीक्षण गरिन् ।

चीन सरकारको सहयोगमा निर्माण भइरहेको दरबार हाइस्कुल निरीक्षण गर्दै पछिल्लो स्वरुप र बनावटको प्रशंसासमेत गरिन् ।

निर्माणकार्य सम्पन्न हुनै लागेको दरबार हाइस्कुलको रङरोगन गर्ने र यसलाई अन्तिम रुप दिने काम भइरहेको छ ।

स्कुलका लागि आवश्यक पर्ने फर्निचर र कालोपाटीसहितको प्रबन्ध दरबार हाइस्कुलमा भइसकेको छ ।

दरबार हाइस्कुलको अवलोकनलगत्तै राष्ट्रपति भण्डारीले सुन्धारास्थित निर्माण भइरहेको ऐतिहासिक धरहराको निरीक्षण गरेकी छन् ।

उनले धरहराको निर्माणमा भएको प्रगति, यसको स्वरुप र सौन्दर्यताको विषयमा जानकारी लिएकी थिइन् ।

धरहरा निर्माणको क्रममा चौथो तल्लाको निर्माणकार्य भइरहेको छ ।

राष्ट्रपति भण्डारीले धरहरा निर्माणपछि देखिने काठमाडौं उपत्यकाको दृष्यावलोकनको बारेमा जिज्ञासा राखेकी थिइन् ।

धरहराको अवलोकनपछि राष्ट्रपति भण्डारीले पुनःनिर्माणकार्य भइरहेको काष्ठमण्डपको अवलोकन गरेकी थिइन् ।

हुनमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत् काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा काष्ठमण्डपको पुनःनिर्माण भइरहेको छ ।

उनले काष्ठमण्डपको ऐतिहासिक महत्व, धार्मिक महत्वको बारेमा जानकारी लिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले काष्ठमण्डपको अवलोकनलगत्तै हनुमानढोका, वसन्तपुर क्षेत्रको अवलोकन गर्दै पुनःनिर्माण चाँडै सम्पन्न गर्न आग्रहसमेत गरिन् ।

राष्ट्रप्रति भण्डारीलाई पुनःनिर्माण हुँदै गरेका संरचनाको पुनःनिर्माणको बारेमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृति सुशील ज्ञवालीले जानकारी दिएका थिए ।

राष्ट्रपति भण्डारीसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायतले पनि रानीपोखरीलगायतका सम्पदाको अवलोकन गरेका थिए ।

दरबार हाइस्कुलबाहेक रानीपोखरी, धरहरा, काष्ठमण्डप, हनुमानढोकाको पुनःनिर्माण सन्तोषजनकरुपमा अगाडि बढ्न सकेको छैन ।

भिडियो हेर्नुहोस्