काठमाडौं, माघ २२ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र सही गतिमा अगाडि बढेको बताएका छन् ।
राष्ट्र बैंकले बुधबार गरेको मौद्रिक नीति कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा गभर्नर नेपालले पछिल्लो समय पुँजी वृद्धि र कर्जामा पनि विस्तार भएको र आर्थिक वृद्धिदरमा पनि सुधार हुँदै गएको बताएका हुन् ।
बैंकका अनुसन्धान विभागका निर्देशक डा. गुणाकर भट्टले यससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पछिल्ला वर्षहरुमा शोधनान्तर स्थिति बचतमा रहेको जानकारी गराउँदै कर्जा प्रवाहमा वृद्धि भएको तर मुद्रास्फीतिमा भने केही दबाब रहेको बताए ।
ब्याजदरमा स्थायित्व आएको भन्दै भट्टले उद्योगको उपयोग क्षमतामा वृद्धि भएको बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले मर्जरलाई प्रोत्साहन गर्नुपर्ने, काउन्टर साइक्लिङ बफर हो/होइन भन्ने कुरामा ध्यान दिन तथा वाचलिष्टको समय घटाउनुपर्ने सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आवधिक हायर पर्चेज कर्जामा लिँदासमेत आम्दानीको स्रोत देखाउनुपर्ने, कर चुक्ताको प्रमाणपत्रसमेत ल्याउनुपर्नेजस्ता कारणले समस्या भएको बताए ।
बैंक तथा वित्तीय संस्थाहरुमा पेपरलेस कारोबार गर्ने भनेपनि अहिलेसम्म कागजी काम भइरहेको र कर्जा प्रणालीमा अझैपनि परम्परागत प्रणाली नै कायम रहेको गुनासो गरे ।
चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बैंकले ऋण दिएर नाफा कमाउने मात्रै नभइ आफ्नो पुँजीको केही प्रतिशत पूर्वाधार विकासमा लगाउनुपर्नेलगायतका सुझाव दिए ।





प्रतिक्रिया दिनुहोस्