इमेज जिल्ला ब्यूरो ।
काठमाडौं, माघ २२ । चीनमा ‘कोरोनाभाइरस’ले महामारीको रुप लिन थालेसँगै नेपालका प्रमुख व्यापारिक नाकाहरु सुनसान बनेका छन् ।
चीनसँग सीमा जोडिएका नेपालका उत्तरी नाकाहरु बन्द भएसँगै राजश्व संकलन शून्यमा झर्नुका साथै सो क्षेत्रमा दैनिक उपभोग्य सामग्रीकोसमेत अभाव हुन थालेको छ ।
चिनियाँ पर्यटक र मालवाहक सवारी–साधनको घुइँचो भइरहने चीनसँग जोडिएका नेपालका प्रमुख व्यापारिक नाकाहरु अहिले बन्द गरिएको छ ।
चीनमा भयावह बन्दै गएको कोरोनाभाइरसको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले नाकाहरु बन्द भएका हुन् ।
जसमध्ये रसुवागढी नाका हुँदै सामान लिन चीनको केरुङ हिँडेका सवारी–साधनहरु एक सातादेखि नाकामै रोकिएका छन् ।
आवागमन बन्द भएसँगै व्यापार ठप्प भएकाले केरुङमा रहेका व्यापारी र कामदारहरुसमेत नेपाल फर्किएको अध्यागमन कार्यालय टिमुरेका प्रमुख रामचन्द्र काफ्ले बताउँछन् ।
चीनसँग सीमा जोडिएका नाकाहरुमा चिनियाँ पक्षले नै सूचना जारी गरी गत बुधबारदेखि १५ दिनका लागि बन्द गरेको हो ।
ठूलो परिमाणमा मालसामान आयात–निर्यात हुने रसुवागढी नाकामा दैनिक करोडौंको राजश्व संकलन हुँदै आएकामा एक सातायता भने कारोबार ठप्प छ । जसका कारण सो क्षेत्रका करिब ६०० कामदार बेरोजगार बनेका छन् । अन्य नाकाहरुबाट संकलन भइरहेको राजश्वसमेत शून्यमा झरेको छ ।
यता, ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द हुँदा स्थानीयलाई दैनिक सामान खरिदमासमेत समस्या उत्पन्न भएको छ ।
चिनियाँ पक्षले नेपालमा सडक निर्माणका लागि आएका चिनियाँ कामदारसमेत तत्कालको लागि फिर्ता लगेको छ ।
संखुवासभाको किमाथांका नाका बन्द भएपछि तिब्बततर्फ काम गर्न गएका १६ जना नेपाली घर फर्कन सकेका छैनन् । किमाथांका र ताप्लेजुङका कामदार उतै अलपत्र परेका छन् ।
उनीहरुलाई भोटखोला गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय संखुवासभामार्फत् फर्काउने प्रयास गरिरहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए ।
किमाथांका नाका बन्द भएपछि भोटखोलाका चेपुवा, हटिया, छुम्सुरलगायतका गाउँमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीकोसमेत अभाव भएको छ ।
यता, तातोपानी नाका पनि बन्द हुँदा मालवाहक कन्टेनरहरु रोकिएका छन् ।





प्रतिक्रिया दिनुहोस्