काठमाडौं, माघ १८ । सरकारले श्रमिकको सुरक्षाका लागि भन्दै गत वर्षबाट सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले अपेक्षित गति लिन सकेको छैन ।
नयाँ युगको सुरुआत भन्दै श्रमिकको हक–हित, सुरक्षा र बिमा योजनासहित ल्याएको कार्यक्रममा हालसम्म कुल श्रमिकको ४ प्रतिशतमात्रै सहभागी भएका हुन् ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार नेपालमा ९ लाख २३ हजार औद्योगिक प्रष्ठिानमा ३२ लाख २८ हजार बढी कामदार आबद्ध छन् ।
तर, त्यसको जम्मा ४ प्रतिशत अर्थात् एक लाख ४० हजार योगदानकर्तामात्रै सामाजिक सुरक्षा योजनामा सहभागी भएका हुन् ।
२०७६ माघ १८ गतेसम्म सामाजिक सुरक्षा कोषमा १२ हजार ९२ रोजगारदाता र एक लाख ४० हजार ९५१ जनामात्रै योगदानकर्ता सूचीकृत भएको कोषले जनाएको छ ।
योजनामा योगदानकर्ताको खाइपाइ आएको सुविधा पनि कट्टा हुनसक्ने भन्दै कार्यविधि परिवर्तन गर्नुपर्ने माग बैंकर्स एसोसिएसन तथा निजी क्षेत्रले गर्दै आएका छन् ।
दोहोरो करको समस्या तथा कार्यविधिमा रहेको व्यवस्था परिवर्तन भएपछिमात्रै योजनामा सहभागी हुने बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले बताए ।
यो योजनामा हालसम्ममा ७४ जिल्लाका योगदानकर्ता र रोजगारदाता सहभागी भएका छन् ।
गत वर्षको साउन १ गतेबाट सुरु गरेपनि एक वर्षको अवधिमा एक लाख १० हजारमात्रै श्रमिक योजनामा आबद्ध भएका थिए भने थप ६ महिनामा ३० लाखमात्रै योगदानकर्ता समावेश भएका हुन् ।
दोहोरो करको कार्यविधि परिवर्तनका लागि अर्थ मन्त्रालयलाई जानकारी पठाइसकेको श्रम मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्