Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


पुस्तकमा कर, ज्ञानको क्षेत्रमा अंकुश: बौद्धिक वृत्त प्रभावित


0
Shares

प्रकाश लम्साल/ईमेज

बारा । विदेशबाट पुस्तक आयात गर्दा १० प्रतिशत कर तिनुपर्ने प्रावधान कार्यान्वयन भएपछि बौद्धिक वृत्त प्रभावित बनेको छ ।

पुस्तकमा कर लगाएर सरकारले ज्ञानको क्षेत्रमा अंकुश लगाउन खोजेकोे आलोचना भइरहेको छ ।

तर बिक्रेताहरुले नै पुस्तकको वास्तविक मूल्यभन्दा थोरै मूल्य देखाएर राजस्व छली गर्न खोजिएको भन्दै राजस्व कार्यालयले केही समयदेखि पुस्तकहरु रोकेर राखेको छ । 

सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि पुस्तक आयात गर्दा १० प्रतिशत भन्सार शुल्क लगाउने भनेर गरेको निर्णय अहिले कार्यान्वनमा आइसकेको छ ।

पुस्तकमा भन्सार शुल्क लगाएर सरकारले पाठकलाई निरुत्साहित बनाउन खोजेको आरोप लागिरहेका बेला पुस्तक बिक्रेताले नै बदमासी गर्न खोजेको रहस्य सार्वजनिक भएको छ ।

विदेशी पुस्तक भारतबाट मगाउँदा सस्तो पर्ने भएकाले व्यवसायीले त्यहाँबाटै पुस्तक मगाइरहेका छन् ।

अहिले बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले एक ट्रक पुस्तक महिनादिनदेखि रोकेर राखेको छ ।

करिब तीन करोड रुपैयाँ बराबरको उक्त किताबमा एक करोड आठ लाख रुपैयाँको भन्सार गरी नेपाल भित्राइएको राजस्व कार्यालयले जनाएको छ ।

उक्त पुस्तकहरु सबै विदेशी रहेको र डलरमा दर छापिए पनि स्टिकरमा कम मूल्य टाँसेर भन्सारमा दस्तुर बुझाएको आशंका गरिएको छ ।

नेपालका ५४ पुस्तक बिक्रेताका पुस्तक रहेकामा ११ बिक्रेताको पुस्तकमा कम मूल्यको स्टिकर प्रयोग भएको जनाइएको छ ।

डलरमै कर तिर्नुपर्ने भन्दै भन्सारमा पुस्तक रोकिएको भन्ने समाचार निराधार रहेको भन्दै एमआरपी नेपाली मूल्यमै भन्सार लिने गरिएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बिसी बताउँछन् ।

पुस्तकको मूल्य घटाएका कारण अनुसन्धान भइरहेको र पुस्तकका सम्बन्धित व्यक्तिहरु तत्काल सम्पर्कमा आएकाले रोक्नुपरेको उनको भनाइ छ ।

चालू आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइएको पुस्तकमाथिको करको विषयमा भने प्रश्न उठिरहेका छन् ।