Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


सप्तकोशीमा रमाइलो ‘मिनी पानीजहाज’: यात्रुलाई सहज, घुम्न आउनेलाई रमाइलो (हेरौं भिडियो)


0
Shares

-ध्रुव भट्टराई/ईमेज

विराटनगर । सप्तकोशी नदीमा पानीजहाज (जेटबोट) संचालनमा आएसँगै सो क्षेत्रका स्थानीय लाभान्वित बनेका छन् ।

सुनसरीको चतराबाट जेटबोट सञ्चालनमा आएपछि पहाडी जिल्लाहरु भोजपुर, धनकुटा, संखुवासभा र उदयपुरका विकट गाँउसम्म पुग्ने दुरीसमेत घटेको छ ।

तर सरकारले जल यातायातलाई प्रवद्र्धन गर्नेसम्बन्धी ठोस नीति नबनाउँदा यसको निरन्तरतामा भने चुनौती नै देखिएको छ ।

नेपाली झन्डासहितका साना पानीजहाजमा चढ्ने र जलयात्रा गर्नेहरुको यतिबेला कोशी किनारमा घुइँचो नै लाग्ने गरेको छ ।

सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन प्रालि र नेपाल रिभर ट्रान्सपोर्ट प्रालिका चारवटा जेटबोट नियमित संचालन हुदै आएका छन ।

ती कम्पनीले  सुनसरीको बराहक्षेत्र नगरपालिका–१, चतराघाटमा आफ्नै पोर्ट र काउन्टर बनाएका छन् ।

चतराघाटबाट चल्ने जहाज धनकुटाको त्रिवेणी, अरुण नदीको किनार सिम्ले, सुनकोशी नदीतर्फ चुवार, मचुवालगायतका ठाउँसम्म पुग्छन् । चतराबाट चार घण्टामै भोजपुर सदरमुकाम पुग्न सकिने र एकपटकमा ३० जना यात्रु बोक्न सकिन्छ ।

सप्तकोशीको चतराघाटमा निर्माण भएको पुलबाट चार मिनेटको यात्रा गर्दा बराहक्षेत्र पुगिन्छ भने भोजपुरको सिम्ले लगायतका क्षेत्रमा पुग्न पनि निकै कम समय लाग्ने भएकाले स्थानीयलाई राहत मिलेको छ ।

पानीजहाजले घुमफिरमा जाने र बराहक्षेत्र दर्शनार्थीका लागि पनि सहज बनाएको छ ।

तर सरकारले जल यातायातलाई ठोस नीति नबनाउँदा जलपर्यटनले सोचेजस्तो प्रगति गर्न नसकेको व्यवसायीको गुनासो छ ।

मानिसको आवतजावतमा मात्र होइन खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा यो उपयोगी बन्दै गएको छ ।

प्रदेश सरकारले पनि जल पर्यटन प्रवद्र्धनका लागि आवश्यक बजेटको प्रबन्ध गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।