Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


६ महिनाको अवधिमा पनि व्यापार घाटा सुधारोन्मुख


0
Shares

काठमाडौं, माघ १७ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा पनि निर्यातमा सामान्य सुधार आएको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस महिनासम्ममा अघिल्लो वर्षको यसै अवधिकमा तुलानामा निर्यात २६ प्रतिशतले वृद्धि भइ ५७ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा निर्यात ४५ अर्ब ४१ करोडको मात्रै भएको थियो ।

यस अवधिमा आयातमा ४ प्रतिशतले कमी आएको छ । यस वर्ष ६ खर्ब ९४ अर्बको वस्तु आयात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ७ खर्ब २३ अर्बको वस्तु आयात भएको थियो ।

यसरी चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा पनि व्यापार घाटा सुधारोन्मुख देखिएको छ ।

यस अवधिमा व्यापार घाटा ६ प्रतिशतले कमी आइ ६ खर्ब ३७ अर्ब भएको छ । अघिल्लो वर्षको पुससम्ममा व्यापार घाटा ६ खर्ब ७८ अर्ब रहेको भन्सार विभागको तथ्यांक छ ।

यस अवधिमा नेपालबाट सबैभन्दा बढी पाम आयल १३ अर्ब ८९ करोडको निर्यात भएको छ भने दोस्रोमा सोयाबिन आयल चार अर्ब ३३ करोडको निर्यात भएको छ ।

यस्तै, तीन अर्ब ६३ करोडको गलैंचा तथा दुई अर्ब ५० करोडको अलैंची निर्यात भएको छ ।

यस अवधिमा एक अर्ब ६५ करोडको उनि धागो तथा एक अर्ब ५५ करोडको कालो चिया निर्यात भएको भन्सार विभागले जनाएको छ ।

यस्तै, यसै अवधिमा पेट्रोलियम पदार्थ मात्र एक खर्ब ७ अर्बको आयात भएको छ ।

यस्तै, ५६ अर्ब ६८ करोडको मेसिनरी वस्तु, ५५ अर्ब ७९ करोडको फलाम तथा स्टिलजन्य वस्तु, इलेक्ट्रिक वस्तुहरु ५३ अर्ब २३ करोडको, सवारी–साधन ४६ अर्ब ८५ करोड तथा गेडागुडी मात्र २६ अर्ब ९६ को आयात भएको भन्सार विभागको तथ्यांक छ ।