Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


बाराको मोतीसर चोक–चन्द्र मावि सडकको नाम ‘प्रचण्डपथ’, दाहालले गरे शिलान्याश


0
Shares

कलैया, साउन २० । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारलाई असफल पार्ने र नेकपाको एकता भाँड्नका लागि देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।

विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानूनहरुको संगालोको सार्वजनिकीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको एकता नेपाली कांग्रेसलाई अपच भएको बताए ।

विश्रामपुर गाउँपालिकालाई एक नमूना गाउँपालिकाका रुपमा विकास गर्नका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

एक अर्को प्रसंगमा उनले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि चाँडै शुरुआत हुने जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष अमिरीलाल पालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अच्युत मैनाली, प्रदेश सदस्य ज्वालाकुमारी साह, महमद समिर र सुन्दर विश्वकर्मा, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललगायतले आआफ्नो विचार व्यक्त गरेका थिए ।

यसैबीच अध्यक्ष दाहालले कलैया उपमहानगरपालिका वडा नं २३ अन्तर्गतको मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको बाटालाई कालोपत्रे गर्नका लागि शिलान्यास गरेका छन् ।

शहरी विकास मन्त्रालयको सहयोगमा सो सडक कालोपत्रे हुनेछ । सडकको नाम ‘प्रचण्डपथ’ रहनेछ । करीब ९ किलोमिटरको सो सडक निर्माणका लागि रु ४८ करोड ९३ लाख ३८ हजार रुपैयाँ लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ । (रासस)