नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
लुम्बिनी, माघ १४ । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको अशोक स्तम्भमा क्षयीकरणको खतरा देखिएको छ ।
सिद्धार्थ गौतमको जन्मस्थलको अकाट्य प्रमाणको रुपमा रहेको स्तम्भमा त्यस क्षेत्रको बिग्रँदो वातावरणीय प्रभाव पर्दा स्तम्भ खिइन थालेको हो ।
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी नै हो भन्ने ठोस प्रमाण यही अशोक स्तम्भ हो ।
जसमा ब्राह्मी लिपि र पाली भाषामा गौतमबुद्धको जन्म यही स्थानमा भएको उल्लेख गरिएको छ ।
तर, विश्वसम्पदा सूचीमा सूचीकृत २२ सय ५० वर्ष पुरानो पुरातात्विक र धार्मिक महत्वको अशोक स्तम्भ अहिले भने खिइँदैछ ।
लुम्बिनी क्षेत्रमा बढ्दो प्रदूषण र सिमेन्ट कारखानाबाट आउने हानिकारक कण टाँसिएर स्तम्भमा रासायनिक प्रतिक्रियाबाट क्षयीकरण भइ मक्किन थालेको विज्ञहरुले बताइरहेका छन् ।
करिब चार वर्षअगाडि नै युनेस्कोका परामर्शदाता तथा ढुंगा विशेषज्ञ कन्स्ट्यान्टिनो म्युचीले स्तम्भको सूक्ष्म अध्ययन गरेका थिए ।
म्युचीले स्तम्भमा जिप्सन, सिमेन्टका कण, त्रिस्टल र स–साना ढुंगाका टुक्राहरु टाँसिएको प्रतिवेदन दिँदै सतर्कता अपनाएर सुरक्षा मापदन्ड लागू गर्न सुझावसमेत दिएका थिए ।
तर, अहिलेसम्म सरकारले कुनै कदम चालेको छैन । लुम्बिनी विकास कोष मुकदर्शकमात्र बनिरहेको छ । न त सिमेन्ट कारखाना नै अन्यत्र सारिएको छ ।
खुला आकाशमुनि रहेको स्तम्भमा चढाइएका पूजा सामग्री, प्रसाद, ‘परफ्युम’ र तेलका कारण पनि नकारात्मक असर स्तम्भलेखमा पुगेको देखिन्छ ।
सँगै रहेको पुष्करणी पोखरीको पानीले ‘साल्ट एक्सन’ भइ स्तम्भको भित्रि भागमासमेत क्षति पुगेको आशंका गरिएको छ ।
वरिष्ठ संग्रहालयविद् जलकृष्ण श्रेष्ठ लुम्बिनी क्षेत्रमा रहेको सिमेन्ट कारखानालगायतका नकारात्मक असर पुर्याउने कारखानाहरु अन्यत्र सार्नुपर्ने बताउँछन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले स्तम्भको वैज्ञानिकरुपमा संरक्षण गर्नुपर्ने भन्दै त्यसो नभए भविष्यमा विश्वकै बौद्ध पहिचान गुम्नेसक्ने औंल्याए ।
धर्मोदयसभाका उपाध्यक्ष पद्य ज्योतिले तत्काल स्तम्भको सुरक्षा र संरक्षण गर्न सरकारको ध्यानाकर्षण गरे ।
तर, सरकारको प्राथमिकता यसको संरक्षण गर्नुभन्दा पनि ‘भ्यू टावर’हरु बनाउनेतर्फ केन्द्रित छ ।
विश्व समुदायका लागि नै महत्वपूर्ण धरोहरको संरक्षणमासमेत यथोचित ध्यान नदिने सरकारबाट अन्य साँस्कृतिक सम्पदाहरुको संरक्षण होला भनेर कसरी विश्वास गर्ने ?









प्रतिक्रिया दिनुहोस्