Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


हिन्दु राष्ट्र र राजसंस्था स्थापित गरी राप्रपालाई देशको पहिलो पार्टी बनाउँछु : राजेन्द्र लिङ्देन


26
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिनुभएका राजेन्द्र लिङ्देनले आफ्नो नेतृत्वमा पार्टी देशको पहिलो पार्टी बन्ने बताउनुभएको छ ।

भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लिङ्देनले आफ्नो नेतृत्वमा राप्रपालाई देशकै पहिलो पार्टी बनाउने बताउनुभयो ।

‘राप्रपा राष्ट्रिय पार्टी पनि नरहेको अवस्थाबाट माथि उठाउँदै मैले यसलाई अहिलेकै निर्वाचनमा सम्मानजनक स्थितिमा पुर्याउँछु,’ उहाँले भन्नुभयो, ‘मेरो जीवनकालमा राप्रपालाई नेपालको पहिलो पार्टी बनाएर छाड्छु ।’

लिङ्देनले पार्टीको मुख्य एजेण्डा रहेको हिन्दु राष्ट्र र राजसंस्थालाई पुनःस्थापना गराएरै छाड्ने दाबी गर्नुभयो । सके निर्वाचनबाट र नसके आन्दोलनबाट पार्टीको एजेण्डालाई स्थापित गर्ने आफ्नो धेय रहेको बताउनुभयो ।

महामन्त्रीसमेत रहनुभएका लिङ्देनले राजा र हिन्दुराष्ट्रको पक्षमा रहेका सबैलाई समेटेर राप्रपालाई बलियो बनाउने प्रण गर्नुभयो । देशमा व्याप्त भ्रष्टाचार र विकृति हटाउनका लागि पनि राप्रपाका प्रतिनिधिले आफूलाई नेतृत्वमा पुर्याउन आवश्यक रहेको उहाँको दाबी छ ।

झापामा राप्रपा कार्यकर्ता बढाएर निर्वाचन जितेको र जिताएको स्मरण गर्दै लिङ्देनले झापामा बढ्नसक्ने कार्यकर्ता र शुभेच्छुक देशभर किन बढ्न सक्दैन भनेर प्रश्नसमेत गर्नुभयो । अहिलेको राप्रपा पहिलेको जस्तो नभएर नवीनतम बनाउनुपर्नेमा जोड दिँदै उहाँले आफूले नवीन राप्रपाको योजना बनाएको बताउनुभयो ।

Skip This