नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मूल नहर परीक्षण गर्ने क्रममै भत्किएको छ ।
केही दिनअघि परीक्षण गर्ने क्रममा बाँकेको ढकेरीस्थित चंगाई खोलानजिक पश्चिममा मूल नहर भत्किएर क्षतिग्रस्त भएको हो ।
आयोजनाको आइसिपी–टु ठेक्का अन्तर्गत १७ दशमलव ७ किलोमिटरदेखि ३५ किलोमिटरको बीचमा पर्ने क्षेत्रमा कमसल निर्माणका कारण नहर भत्किएको हो ।
अहिले आयोजना कार्यालयले स्टिमेट गरेर आफ्नै बजेटमार्फत नहर पुनर्निर्माण गर्न थालेको छ ।
नहर भत्किएपछि सिक्टाको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठिरहेको अवस्थामा आयोजना कार्यालयले हतारमा पुनर्निर्माणको काम सुरु गरेको हो ।
उक्त क्षेत्रमा घुलनशील माटो प्रयोग भएका कारण पटक–पटक नहर भत्किने गरेको छ ।
आयोजना कार्यालयका सूचना अधिकारी एवम् सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले मूल नहर भत्किएको ठाउँमा जेसिभी, रोलर र टिपर परिचालन गरेर पुनर्निर्माणको काम थालिएको बताए ।
पुनर्निर्माणका लागि ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन कम्पनी जिम्मेवारीबाट पन्छिएको आयोजना स्रोतले जनाएको छ ।
यसअघि २०७३ असार १४ मा पनि ढकेरीनजिक रहेको झिझरी खोला छेउमा मूल नहर भत्किँदा रातारात पुनर्निर्माण गरिएको थियो । त्यतिबेला कालिका कम्पनीले नै पुनर्निर्माण गरेको थियो ।
मूल नहरको उक्त खण्ड अझैसम्म हस्तान्तरण भएको छैन । नहरको मर्मत सुधार अवधिसमेत पूरा नभएको आयोजनाका निर्देशक रमेश बस्नेतले बताए ।
भत्किएको संरचना परीक्षण नगरी हतारमा बनाउन थालिएको भन्दै स्थानीयबासीले असन्तुष्टि जनाएका छन् ।
मर्मतसुधार अवधि पूरा नहुँदै पटक–पटक नहर भत्किन थालेपछि आयोजनाले ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीको धरौटी रकम नै रोकिदिएको छ ।
उक्त धरौटी रकम पुनर्निर्माणमा खर्चिने योजनाा बनाएको कार्यालय स्रोतको भनाइ छ ।
२०६३ सालबाट बाँकेमा निर्माण भइरहेको मूल नहरको काम ६० प्रतिशत मात्र सम्पन्न हुँदा हालसम्म आयोजनाले झन्डै १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्