१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सूचना प्रविधिको क्रान्तिले हुलाक सेवा अस्तित्वको संघर्षमा


0
Shares

कोमल शेरचन (इमेज)

काठमाडौं, माघ ६ । सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिले परम्परागत हुलाक सेवा सबैभन्दा बढी प्रभावित भएको छ ।

यताको खबर उता र उताको खबर यता गर्ने हुलाक सेवाको भूमिका खुम्चिँदै गएको पक्कै हो ।

तर, हुलाक सेवाले बद्लिँदो परिवेशअनुसार आफूलाई ढालेर सेवा दिने प्रयास भने जारी राखेको पाइन्छ ।

सूचना र प्रविधिको विकाससँगै व्यक्तिगत चिठी आदान–प्रदान लगभग बन्द भएको छ ।

चिठीपत्र तथा खबर आदान–प्रदानको माध्यम अहिले मोबाइल र इमेलबाट हुने भएपछि नयाँ पुस्ताका निम्ति हुलाक रोजाइमै पर्न छाडेको छ ।

पछिल्लो समय सर्वसाधारणको पहुँच सामाजिक सन्जालमा बढेपछि हुलाक कार्यालयहरु परम्परागत जिम्मेवारीबाट विमुख भएका छन् ।

बद्लिँदो समयअनुसार हुलाक सेवाका कर्मचारीलाई प्रविधिमैत्री बनाएर वैकल्पिक जिम्मेवारी दिन थालिएको छ ।

सरकारले अति आवश्यकीय सेवामा राखेको हुलाक सेवामा अहिले पनि १६ हजारभन्दा बढी कर्मचारी छन् ।

अहिले सरकारी चिठी, विदेशी नियोगका चिठी तथा व्यक्तिगत र संस्थागत ‘पार्सल’ पठाउनेको संख्यामा कमी आएको छैन ।

त्यसैले पनि गोश्वारा हुलाक कार्यालयमा विस्तारै सेवाग्राहीको चाप पनि थपिन थालेको कर्मचारीहरु बताउँछन् ।

व्यक्तिगत चिठी तथा सरसामान ‘कुरियर’बाट पठाउने प्रचलन बढेकाले हुलाक सेवालाई सोहीअनुकूलको प्रविधिमैत्री बनाइएको कर्मचारीहरु बताउँछन् ।

अहिले हुलाकबाट बचत बैंक सेवा, टेलिसेन्टर सेवा, धनादेश सेवा, इएमएस सेवा, विप्रेषणलगायतका सेवाहरु उपलब्ध हुन थालेको छ ।

गोश्वारा हुलाक कार्यालयकाअनुसार मुलुकका ७७ ओटै जिल्लाका हरेक वडा तहमा हुलाक सेवाको पहुँच छ ।

ती हुलाक कार्यालयहरुमा रहेका १६ हजार जनशक्तिलाई आधुनिकीकरण गरेर अझ प्रभावकारी बनाउन नसके हुलाक कार्यालयहरुमा आग्लो लाग्ने अवस्था नआउला भन्न सकिँदैन । यही नै हुलाक सेवामा अहिलेको मुख्य चुनौती देखिएको छ ।