
प्रज्ञा तिमल्सीना
काठमाडौं, मंसिर ९ । जन्मजात बालबालिकाको आँखामा जलबिन्द, मोतिबिन्दु देखिने समस्या बढ्दो क्रममा रहेको छ । महिला गर्भवती भएको समयमा विभिन्न समस्याका कारण यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् । जसका कारण बालबालिकामा जन्मजात नै आँखा नदेख्ने समस्या देखिने गरेको छ । अझ इन्टरनेटमा बालबालिकाको बढ्दो लतले समस्या जटिल बन्दै गएको छ ।
चितवन घर भएकी बिमला सुवेदीले १० वर्षीय छोरालाई दुई बर्षको उमेरमा मोतिबिन्दुको समस्या देखिएको थाहा पाईन् । नजिक भएका बस्नु नदेख्ने, हिँड्न समस्या हुने जस्ता क्रियाकलाप देखाए पनि उपचारका लागि काठमाडौं लिएर आएकी उनलाई चिकित्सकले छोराको आँखामा मोतिबिन्दुको समस्या रहेको बताए । जन्मजात देखिने मोतिबिन्दुको समस्याका कारण उनको शल्यक्रिया समेत गरियो । हाल चस्माको सहारामा दृष्टि प्राप्त गरेको उनको समय समयमा परीक्षणमा आइरहनु पर्छ ।
त्यस्तै, काठमाडौं साँखु घर भएकी सुमित्रा श्रेष्ठको ५ वर्षीय छोराको ५ महिना हँुदा जलबिन्दु देखिएको पहिचान भयो । पटक पटक शल्यक्रिया गर्नुपरेको उनले एउटा आँखाले राम्रोसँग देख्न सक्दैनन् । चिकित्सकले जन्मजात नै देखिएको समस्या ढिलोे पहिचान हँुदा थप बढेको जनाइएको छ ।
महिला गर्भवती भएको समयमा हुने विभिन्न संक्रमण र समस्याका कारण गर्भमा रहेका शिशुको आँखामा समस्या देखिने जनाइए पनि चिकित्सकहरु के कारण जन्मजात आँखामा समस्या देखिने भन्ने एकिन नभएको बताउँछन् । जन्मजात यसरी देखिने जलबिन्दु, मोतिबिन्दुको समस्या बढ्दै गए दृष्टि नै नफकर्ने समस्या हुन्छ । तर शल्यक्रिया मार्फत दृष्टि फर्काउन सकिने हुँदा समयमा चिकित्सकको सम्र्पकमा आउनुपर्ने आँखारोग विशेषज्ञ डा. सिर्जना अधिकारी बताउनुभयो ।
पछिल्लो समय इन्टरनेटको लतले बालबालिकामा सानैदेखि दृष्टिमा समस्या देखिने गरेको छ । केही बालबालिकामा जन्मजात समस्या देखिने गरेपनि धेरै बालबालिकामा भने मोवाइल, टेलिभिजन र कम्युटरको बढी प्रयोगले आखाँमा प्रत्यक्ष असर पार्ने गरेको चिकित्सकहरु बताउँछन् । इन्टरनेटको प्रयोग बढ्दै जाँदा बालबालिको आँखामा प्रत्यक्ष प्रभाव परेको अध्ययनले नै देखाएको डा. अधिकारीको भनाई छ ।
लकडाउनको समयमा इन्टरनेटको प्रयोगकर्ता झन उल्लेख रुपमा बढ्यो । विद्यालय बन्द हुँदा सबै विद्यालयले अनलाइनबाट नै पढाउन थालेका कारण पनि यो समस्या बढेको चिकित्सकहरु बताउँछन् । सानै उमेरमा देखिने समस्या उमेर अनुसार बढ्दै जाने हुन्छ । जन्मजात देखिने समस्या रोक्न नसकिए पनि इन्टरनेटका कारण बढेको समस्याको निदान खोज्न खासगरी अभिभावकको ध्यान जान आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्