Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


देशभरका विद्यार्थीलाई कोभिडविरुद्धको खापको व्यवस्था गर्ने शिक्षामन्त्री पौडेलको प्रतिवद्धता


0
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै विद्यार्थीहरूलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्ने बताउनुभएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरू सार्वजनिक गर्दै मन्त्री पौडेलले सबै विद्यार्थीहरूलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्ने बताउनुभयो । उहाँले चाँडै नै सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभयो ।

मन्त्री पौडेलले ‘सिक्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, अनिवार्य तथा निःशुल्क ऐन र नियमलाई प्रभावकारी बनाउने, कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाइ गुणस्तरीय एवं रंगीन बनाउने लगायतका विषयलाई कार्यान्वयन गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

मन्त्री पौडेलले शिक्षक अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने तीन वर्षभित्र सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारहरु तायर गर्ने गरी श्रोत साधन परिचालन गरिने पनि जानकारी दिनुभयो ।

पौडेलले शैक्षिक पूर्वाधार निर्माण एवं प्रविधि विकासमा स्वदेशी एवं वैदेशिक लगानी आकर्षित गरिने मन्त्रालयको प्राथमिकता रहेको बताउनुभयो । प्रत्येक पालिका, प्रदेश र राष्ट्रिय स्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गरिने उहाँको भनाइ छ ।