Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


नुवाकोटमा ८ हजार १ सय ४३ घर निर्माणमा हुन बाकिँ


0
Shares

नुवाकोट, माघ २ । भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्दै जनचेतना जगाउने उद्देश्यले मनाउन थालिएको भूकम्प दिवस यस वर्ष पनि मनाइएको छ ।

यसै क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वि.स. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेका सम्पदाको निर्माण कार्यमा ८३ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ ।

वि.स. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अरु १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

भूकम्प गएको पाँच वर्ष पुग्नै लाग्दा पुनर्निर्माणको कार्यले अपेक्षित गति लिन सकिरहेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा वि.स. २०७२ सालको भूकम्पबाट सबैभन्दा बढी क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवनहरु र सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा औषतमा ८३ प्रतिशत प्रगति भएको बताएको हो । प्राधिकरणले ६ वटा क्षेत्रमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जनाएको छ ।

भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा पुनर्निर्माणको गति तीव्र देखिएको छ । निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा रहेका ८९ हजार घरधुरी मध्ये ८६ हजार परिवारले सरकारसँग सम्झौता गरिसकेका छन् । सरकारी भवन निर्माण पनि ९० प्रतिशत सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ । भूकमपको केन्द्रविन्दु रहेको गोरखामा करीब ९० प्रतिशत नीजि आवास निर्माण सम्पन्न भईसकेका छन् ।

गोरखामा ६५ हजार ८ सय लाभग्राही रहेकोमा ६५ हजार ५ सयले अनुदान सम्झौता गरेका छन् । निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा रहेका धादिङका ८३ हजार ४१ मध्ये ७६ हजार ६ सय २८ घरधुरीले सरकारसँग सम्झौता गरिसकेका छन् । जसमध्ये पहिलो किस्ता बुझेर घर निर्माण गर्न सुरु गरी दोस्रो किस्ता लिनेको सङ्ख्या ६५ हजार ९ सय ७२ रहेको छ । निजी अवास निर्माणमा सन्तोषजनक प्रगति देखिए पनि अन्य पुरातात्विक र सांस्कृतिक सम्पदाको पुनर्निर्माणले भने खासै गति लिन सकेको छैन ।

उता भूकम्पले बढी क्षति पुर्‍याएको नुवाकोटमा पनि पुनर्निमाणको क्रम चलिरहेको छ । जिल्लाका ७४ हजार ९ सय ४३ लाभग्राहीमध्ये ६६ हजार ८ सय घर निर्माण सम्पन्न भइसकेका छन् । पछिल्लो चरणको गुनासो सम्बोधनमा थप ४ सय १९ जना लाभग्राही थपिएका छन् । पुनर्निर्माणको काम अपेक्षित नभए पनि काम भने अघि बढिरहेको छ ।

रसुवामा ९० प्रतिशत भूकम्प पीडितले नीजि आवास निर्माण गरेका छन् । १९९० साल माघ २ गते गएको भूकम्पलाई आधार मानी नेपालमा वि.स. २०५५ सालदेखि आजको दिनलाई भूकम्प दिवसको रुपमा मनाउन थालिएको हो ।

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले भूकम्प दिवस मनाउन थालिए पनि यसको प्रभावकारिता औपचारिकतामा मात्र सीमित भएको देखिन्छ ।