काठमाडौं, साउन १८ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिक्टा सिँचाइ आयोजना तोकिएकै समयभित्रै सम्पन्न गर्न दृढ रहेको जनाएको छ ।
राप्ती नदीमा बाँध निर्माणको कार्य सम्पन्न भएसँगै मूल नहरको ३५ किलोमिटरसम्मको निर्माणपछि उक्त खन्डको परीक्षणकाक्रममा पानी सन्चालन गर्दा केही स्थानमा नहरमा क्षति भएको पाइएको थियो ।
यस सम्बन्धमा मन्त्रालय तहबाटसमेत निरीक्षण गरी मर्मत–सम्भारका लागि निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
निर्माण व्यवसायीबाट आयोजनालाई हस्तान्तरण भइ नसकेको सन्दर्भमा देखापरेका समस्या समाधानका लागि ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीको दायित्वभित्र पर्ने भन्दै उक्त निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको हो ।
बाँके जिल्लाको करिब ४२ हजार हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सेवा पुर्याइ खाद्य उत्पादनमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्यका साथ सुरु गरिएको राष्ट्रिय गौरवको आयोजना हो यो ।
आयोजनाको पश्चिम मूल नहरको अधिकांश कार्यसहित करिब ५५ प्रतिशत पूर्वाधार निर्माणको कार्य सम्पन्न भएको पनि मन्त्रालयले जनाएको छ ।
यस प्रकृतिको समस्या हुनसक्ने संवेदनशील तथा समस्याग्रस्त सम्भावित स्थानहरुको भौगर्भिक अवस्था तथा माटोको सम्बन्धमासमेत विशेषज्ञसहितको संलग्नतामा सूक्ष्म प्राविधिक अध्ययन–अनुसन्धान गरी आवश्यक सुधार गर्न/गराउनसमेत विभाग तथा आयोजनालाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्