Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


यो नारा–जुलुस गर्ने समय होइन : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा–जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताएका छन् ।

गन्डकी प्रदेशका सांसदसँग शुक्रबार सिंहदरबारमा अन्तरक्रिया गर्दै उनले संविधानले केही नयाँ राजनीतिक संरचनाको व्यवस्था गरेकाले त्यसको व्यवस्थापन गर्नुपर्दा केही समस्या भएको बताए ।

‘प्रदेशको संरचना हाम्रा लागि बिल्कुलै नयाँ हो’–प्रधानमन्त्री ओलीले भने–‘यो नयाँ अभ्यासमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ ।’

उनले अघिल्लो सरकारले निर्वाचन हुनुअघि र सकिएपछि राष्ट्रिय ढुकुटीबाट जथाभावी रकम बाँडेको, विभिन्न रोगका उपचार निःशुल्क गर्ने भनेकाले अहिले त्यसको असर अर्थतन्त्रमा देखिएको बताए ।

‘अहिले उपचारका लागि अर्बाैं रकम दाबी गरिएका बिलहरु आएका छन्’–प्रधानमन्त्री ओलीले भने–‘चुनाव हारिसकेपछि सत्तामा जाने सम्भावना नभएकाले देशलाई डुबाउने गरी यस प्रकारका निर्णय गरेका छन् । जसले गर्दा हाम्रो अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन समय लाग्ने देखिन्छ ।’

प्रधानमन्त्री ओलीले गन्डकी प्रदेशको समग्र विकासका लागि केन्द्र सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरक्रियामा अधिकांश सांसदले कोरलाबाट त्रिवेणी–सुस्ता जोड्ने सडकका विषयमा उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले सो सडक हाल निर्माणाधीन अवस्थामा रहेकाले सरकारले आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायत गन्डकी प्रदेशका सांसदको सहभागिता थियो । रासस