Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


यस्तो देखियो गोरखादेखि काठमाडौंसम्मको नेपाली सेनाको टर्च र्‍याली (भिडियो)


0
Shares

 गृष्मा राजभण्डारी (इमेज) 

काठमाडौं, पुस २७ । पृथ्वी जयन्तीकै अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्मको टर्च र्‍याली सम्पन्न गरेको छ । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले हिंडेको बाटो पछ्याउँदै सेनाले यो र्‍याली सम्पन्न गरेको हो ।

जसको उद्धेश्य नेपाल भ्रमण वर्ष २०२० लाई सघाउनु पनि रहेको छ । यही पुस १९ गते जबरजंग बटालियनका कमाण्डर उदयबहादुर लामिछानेको कमाण्डमा गोरखाबाट शुरु भएको टर्च र्‍याली पुस २६ गते काठमाडौं आईपुगेको हो ।

गोरखा दरबारबाट झण्डा र टर्च लिएर शुरु भएको र्‍याली बोर्लाङ, सल्यानटार, हासेपसल, चरङ्गे, तबेभर र नुवाकोटको सामरी र ककनी हुँदै काठमाडौं आईपुगेको हो । गोरखाबाट हिंडेको सैनिक टोलीले धादिङको सैनिक टोलीलाई टर्च र झण्डा हस्तान्तरण गरेको थियो भने धादिङको टोलीले नुवाकोटको सैनिक टोलीलाई हस्तान्तरण गरेको थियो ।

नुवाकोटको सैनिक टोलीले टर्च र झण्डा काठमाडौंलाई हस्तान्तरण गर्ने गरी व्यवस्था मिलाइएको थियो । काठमाडौं आइपुगेको टर्च र्‍यालीलाई पुस २६ गते जंगी अड्डामा स्वागत गरिएको थियो भने पुस २७ गते सिंहदरबार मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुगेर र्‍याली समापन गरिएको थियो ।

राष्ट्रनिर्माताको योगदानको स्मरण गर्दै सेनाले पहिलो पटक यो खालको र्‍याली आयोजना गरेको हो । पृथ्वीनारायण शाह हिंडेको ऐतिहासिक पदमार्गको पहिचान, संरक्षण र विकासमा सहयोग गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० मा उक्त पदमार्गमा पर्यटक र पदयात्री पुर्‍याउने उद्धेश्यले यो र्‍याली आयोजना गरिएको हो ।

सेनाले राष्ट्रनिर्माताको स्मरण र सम्मान समेत हुने गरी एउटा स्रहानिय काम गरेको छ ।