Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बन्दै बन्दीपुर,बसाइ लम्ब्याउन विभिन्न ‘अफर’


0
Shares

– उपेन्द्र खनाल/ ईमेज 

तनहुँ, पुस २७ । नेपाल भ्रमण वर्ष सुरु भएसँगै तनहुँको बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत वर्ष डेढ लाखको संख्यामा पर्यटक भित्रिएको यस क्षेत्रमा यो वर्ष त्यसलाई वृद्धि गर्ने योजना रहेको छ ।

पर्यटकीय नगरी मानिने तनहुँको बन्दीपुरमा अहिले दैनिक पाँच-सात सयको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकनका लागि आउने गरेका छन् । सफा र सुन्दर रहेको बन्दीपुरमा प्राचीन तथा कलात्मक घरहरु भएकाले पनि पर्यटक आकर्षित भएका हुन् ।

गतवर्षभन्दा अझ बढी पर्यटक भित्र्याउने उद्देश्यले अहिले बजार क्षेत्रमा मेटालिक पोलसमेत जडान गरिएको छ । विभिन्न किसिमका मनमोहक दृश्यावलोकन गर्न पाउँदा मन नै फुरुङ्ग हुने गरेको यहाँ आउने पर्यटकको भनाइ छ ।

यहाँ आउने  अधिकांश पर्यटक होटेलमा बस्ने गरे तापनि होमस्टेप्रतिको आकर्षण पनि बढ्दै गइरहेको छ । होमस्टेमा स्थानीय खानाका परिकार, मनोरञ्जन,  संस्कृति र रीतिरिवाजको जानकारी हुने भएकाले यसप्रतिको मोह बढ्न थालेको हो ।

होमस्टेमा आउने पाहुनाहरु खुसी भएर फर्किने गरेकोे बन्दीपुर सामुदायिक होमस्टेकी कोषाध्यक्ष कृष्णकुमारी थापाको भनाइ छ । आन्तरिक पर्यटकका साथसाथै युरोप, अमेरिका, चीनलगायतका स्थानबाट पनि पर्यटकहरु आउने गरेका छन् ।

उनीहरुलाई राम्रो सेवा दिन बन्दीपुरमा सुविधासम्पन्न होटेलहरु समेत निर्माण गरिएको छ । भ्रमण बर्ष सुरु भएसँगै बन्दीपुर आउने पर्यटक दश÷पन्ध्र प्रतिशतसम्म बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङ बताउँछन् ।

गण्डकी प्रदेशमै पोखरापछिको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा बन्दीपुरलाई लिने गरिएपनि त्यसबाट अपेक्षित प्रतिफल भने आउन सकेको छैन ।