काठमाडौं, कात्तिक १२ । सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना नेताले न्यायालय शुद्धीकरणको लडाइँको पक्षमा उभिन पार्टीसमक्ष आग्रह गरेका छन् ।
उनीहरुले अहिले न्यायालयको अवस्थामा पेचिलो बनेको र संविधान रक्षाका लागि खेलेको भूमिकालाई लिएर प्रतिशोध साध्ने काम भैरहेको भन्दै कांग्रेस अहिलेको अवस्थामा मौन बस्न नहुने बताएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले वक्तव्य निकाली स्वतन्त्र न्यायपालिकाविना कांग्रेसले विश्वास गरेको उदार लोकतन्त्र संरक्षण सम्भव नभएको बताउनुभएको छ ।
लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व भएको उहाँहरुको ठहर छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सरकारमा भाग खोजेको विषयलाई लिएर उहाँको राजीनामा माग भइरहेका बेला कांग्रेसका नेताहरूले विज्ञप्ति निकाल्दै न्यायालय शुद्धीकरणको अभियानमा साथ दिनुपर्ने बताएका हुन् ।









प्रतिक्रिया दिनुहोस्