Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


अमेरिका–इरान द्वन्द्वः नेपाली कामदारको अवस्था बुझ्न पहल सुरु


0
Shares

काठमाडौं, पुस २४ । अमेरिका र इरानबीच द्वन्द्व चर्किएसँगै सरकारले खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था बुझ्न पहल लिएको छ ।

उनीहरुको सुरक्षामा कुनै कमी हुन नदिने विश्वास परराष्ट्र मन्त्रालयले दिलाएको छ ।

परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त बैठकमा खाडी मुलुकमा रहेका नेपालीहरु द्वन्द्वको मारमा नपरुन् भनेर गम्भीर छलफल भयो ।

बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारी अधिकारीहरुलाई खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था र सम्भावित जोखिमको लेखाजोखा गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन् ।

ज्ञवालीको निर्देशनबमोजिम परराष्ट्र मन्त्रालयले सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुलाई पत्राचार गरिसकेको छ ।

द्वन्द्वरत् इरानका साथै खाडीमा रहेका नेपालीलाई पनि स्थानीय नेपाली दूतावासमा सम्पर्कमा रहने प्रबन्ध मिलाइएको छ ।

इरानसहित खाडी देशहरुमा काम गर्ने नेपालीको संख्या २० लाखभन्दा बढी रहेको अनुमान गर्दै सरकारले उनीहरुको सुरक्षामा कमी हुन नदिने प्रतिबद्धता परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म द्वन्द्वको मारमा कोही नेपाली परेका छैनन् । तर, अमेरिका र इरानबीचको द्वन्द्व थप चर्कियो भने त्यहाँबाट नेपालीलाई फर्काउनुपर्ने हुनसक्छ ।

‘अहिलेसम्मको अवस्थामा नेपाली नागरिकहरुलाई कुनै त्यस्तो अप्ठ्यारो अवस्था परेको छैन’–परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने ।