Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित


0
Shares

काठमाडौं, साउन १८ । प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगन भएको छ ।

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश शुक्रबार १३ः०० बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिए ।

शुक्रबारको बैठक बस्न नसक्ने भएकाले यही साउन २० गते बिहान ११ः०० बजे बस्नेगरी बैठक स्थगन भएको जनाइएको छ ।

शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ र अर्थमन्त्री डा. युवराज खतिवडाले ‘लेखा परीक्षण विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची थियो ।

बैठकमा गृहमन्त्री थापाले प्रस्तुत् गर्ने ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी महासन्धि’माथि सामान्य छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको थियो ।

कांग्रेसको आग्रहमा स्थगन 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आग्रहबमोजिम प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगन भएको हो ।

कांग्रेस संसदीय दलको बैठक बसिरहेकाले कांग्रेस सांसदहरुको आग्रहानुसार बैठक स्थगन गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनले भने–‘प्रतिपक्षी दल कांग्रेसले आफ्नो संसदीय दलको बैठक लामो समय जारी रहने भएकाले सभामुखसमक्ष आजका लागि बैठक स्थगन गरिदिनुपर्‍यो भनी आग्रह गरेको कुरा सभामुखले हामीहरुलाई जानकारी दिनुभयो ।’

प्रतिपक्षीको आग्रहलाई स्वीकार गरेर बैठक स्थगन गरिएको उनको भनाइ छ ।

बैठक चलाउने वा नचलाउने भन्ने विषयमा सभामुख कृष्णबहादुर महराले सत्तरुढ नेकपाका नेता नेम्वाङलगायतसँग संघीय संसद भवनमै छलफल गरेका थिए ।

छलफलपछि सभामुख महराले बैठक स्थगन गर्ने निर्णय लिएका थिए ।

सोलगत्तै संघीय संसद सचिवालयका महासचिव भट्टराईले सूचनामार्फत् बैठक स्थगन भएको जानकारी दिएका थिए ।

बिहीबारको बैठकमा भने सभामुख महराले आफूहरुलाई बोल्न नदिएको भन्दै कांग्रेसका सांसदले बैठक बहिस्कार गरेका थिए । रासस