Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उप्किएपछि…


0
Shares

काठमाडौं, साउन १८ । धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण अहिले नियमितरुपमा सन्चालन भएको छ ।

धावनमार्गमा समस्या देखिएपछि शुक्रबार बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान र अवतरण रोकिएको थियो ।

जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले जनाएको छ ।

करिब २० मिनेटको समयपछि सेवा पुनः सुरु भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले राससलाई जानकारी दिए ।

खासगरी वर्षाको समयमा यस्तो समस्या पटक–पटक निम्तिने गरेको छ । केही दिनपहिले नेपालगन्जबाट काठमाडौं आएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सवार विमानसमेत धावनमार्ग उप्किएका कारण करिब ४५ मिनेट आकाशमै घुम्ने (होल्ड) मा परेको थियो ।

विमानस्थलको धावनमार्ग मर्मतका लागि पटक–पटक टेन्डर भएपनि प्रक्रिया अगाडि नबढ्दा वर्षाको समयमा बढी समस्या देखिने गरेको छ ।

महाप्रबन्धक क्षेत्रीले सामान्य समस्या देखिनेबित्तिकै द्रुत मर्मत टोली परिचालन गरी समस्याको समाधान गरिएको बताए ।

कालोपत्र उप्किएमा तत्काल टाल्ने र त्यो आधा घन्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिन्छ ।

विज्ञहरुले विमानस्थलको नयाँ धावनमार्ग निर्माण गर्नुपर्ने र हाल सन्चालनमा रहेको धावनमार्गलाई पूर्णरुपमा मर्मत गर्न सुझाव दिँदै आएका छन् । तर, एकमात्र धावनमार्ग भएका कारण मर्मतमासमेत समस्या देखिने गरेको छ ।

धावनमार्ग पूर्णरुपमा मर्मत गर्न कम्तीमा एक वर्ष लाग्ने बताइएको छ ।

बढी उडान चाप हुने समयमा धावनमार्ग उप्किएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु होल्ड भएका थिए ।

मनसुन सुरु भएपछि पटक–पटक धावनमार्गमा समस्या आउने गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न नहुँदासम्म धावनमार्गमा आउने समस्याका कारण जहाज आकाशमै होल्ड गर्नुपर्ने वा अन्यत्र पठाउनुपर्ने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था कायमै रहने देखिन्छ ।

कतार एअरवेज, नेपाल एअरलाइन्स, विमान बंगलादेश, जेट एअरलगायत जहाज अवतरण गर्न नसकेपछि आकाशमा चक्कर लगाउनुपरेको थियो ।

आन्तरिक उडानमा रहेका बुद्ध एअर, यति एअरलाइन्सका जहाज जुन स्थानबाट आएका थिए, उतै मोडिएका थिए । रासस